पोखरा, जेठ १८
पोखरामा एक महिलाले ७ वर्षिया बालिकाको हत्यापछि आफैले आत्महत्या गरेकी छन् । पोखराको सिर्जनाचोकमा बस्दै आएकी ३९ वर्षिया सुशीला शर्मा खतिवडाले बुधबार साँझ धर्मपुत्रीका रुपमा राखेकी ७ वर्षिया बालिका सोनिया शर्मा खतिवडाको हत्यापछि आफूलेपनि आत्महत्या गरेकी हुन् । शुरुमा धर्मपुत्री सोनियालाई सलले घाँटी कसेर हत्या गरेपछि आफूलेपनि सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेकी हुन् । बालिका पोखराको लिटिल स्टेप बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।
प्रहरीका अनुसार दुबैको शव बेडरुम (सुत्ने कोठा)मा भेटिएको छ । बच्चाको शव सलले घाँटी बेरिएकै अवस्थामा भेटिएको थियो भने आमा सुशीला पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो । प्रहरी श्रोत भन्छ,‘शुरुमा बच्चालाई विषपनि खुवाइएकोजस्तो छ । त्यसपछि सलले घाँटी कसेर मारेको देखिन्छ ।’ बच्चा मरिसकेपछि मात्रै महिलाले आत्महत्या गरेको जस्तो देखिएको बाल अधिकारकर्मी बिजयकुमार प्रधानले बताए । बालिकाको हत्या र त्यसपछि आफैले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन ।
कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारी भने पोष्टमार्टमपछि मात्रै थप बताउन सकिने बताउँछन् । भन्छन्,‘शव भेटिएको हो । हत्या, आत्महत्याबारे पोष्टमार्टम रिपोर्ट र अनुसन्धान पछि मात्रै थप भन्न सकिन्छ ।’
सुशीलाका श्रीमान सञ्जु भनिने सञ्जय शर्मा खतिवडा कामको शिलशिलामा पोखरा भ्याली बाहिर रहेका बेला घटना घटेको बताइएको छ । घटनापछि प्रहरीले मुचुल्का उठाएको छ । शव भने पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको डिएसपी तिवारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







