ढोरपाटनमा नाउर घटे, झारल बढे


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




तस्बीर: गुगल

पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको संख्या घटेको र झारल बढेको पाइएको छ।

आरक्ष कार्यालयका अनुसार गणनाका बेला १ हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए। विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको संख्या कम र झारलको बढी हो।

त्यसबेला, आरक्षमा २ हजार २०२ नाउर र ३८८ झारल भेटिएका थिए। हरेक ५ वर्षमा आरक्षमा रहेका नाउर र झारलको गणना गर्ने गरिन्छ। कोभिड–१९ का कारण यसपटकको गणना एक वर्षपछि धकेलिएको थियो। गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा निर्धारण गर्ने गर्छ। वर्षेनी १९ देखि २४ सम्म नाउर र १४ देखि १९ सम्मको संख्यामा झारलको सिकार कोटा तोकिने गरिएको आरक्षका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिएका छन्।

‘नाउरको संख्या घटेको पाइएपछि यस वर्ष न्यूनतम १९ वटाको मात्र सिकार कोटा तोकियो, झारल पनि १४ मा सीमित भयो,’ उनले भने, ‘गणनामा भेटिने नाउर र झारलको संख्या विश्लेषण गरेर सिकार कोटा निर्धारण गरिन्छ।’

नाउरको संख्या घटेपछि विभागले सिकार कोटा पनि घटाएको देखिन्छ। केही वर्षअघिसम्म वार्षिक २२ देखि २४ सम्म नाउरको सिकार हुने गथ्र्यो। सहायक संरक्षण अधिकृत खड्काले आरक्षका सातै सिकार ‘ब्लक’मा पुगेर नाउर र झारलको गणना गरिएको बताए।

‘झारल र नाउर समूहमा भेटिन्छन्, हेड काउन्ट नै गरिन्छ,’ उनले भने, ‘हरेक सिकार ब्लकमा छुट्टाछुट्टै गणना हुन्छ। सिकार कोटा पनि त्यहीअनुसार तोकिन्छ।’

पछिल्लो नाउर र झारलको गणना राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत गरिएको आरक्ष कार्यालयले जनाएको छ।
नाउर ढोरपाटनमा बढी सिकार हुने जनावरमा पर्छ। समुन्द्री सतहको ३ हजार मिटरदेखि ५ हजार माथिसम्म पाइने नाउर हिमाली भेडाले पनि चिनिन्छ। नाउर बथानमा बस्छ। नाउरको आयु करिब १५ वर्ष हुन्छ। लाङटाङ, मकालु, बरुण राष्ट्रिय निकुञ्जलगायत अधिकांश हिमाली क्षेत्रमा नाउर पाइने भएपनि ढोरपाटनमा मात्र यसको वैधानिक सिकार गर्न पाइन्छ।

झारल पनि बाख्रा प्रजातिमा पर्ने जनावर हो। नाउर र झारल सिकारका लागि बर्षेनी विख्यात विदेशी सिकारी ढोरपाटन आउने गर्छन्। लाखौँ खर्चेर सिकारको रोमाञ्चक अनुभव बटुल्न उनीहरु लालायित हुन्छन्। स्वदेशी सिकार कम्पनीमार्फत विदेशी सिकार खेल्न जान्छन्।

बर्षेनी असोज–मंसीर र फागुन–वैशाख गरी २ याममा ढोरपाटनमा सिकार खुला हुन्छ। चालू आवको दुवै याममा गरी १७ नाउर र ८ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ। सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्रयाक एण्ड ट्रेल्सले यस वर्ष सिकार खेलाएको थियो।

अमेरिका, फ्रान्स, डेनमार्क, मेक्सिको, नर्वे, युक्रेन, स्पेनलगायत देशका पेसेवर सिकारीले नाउर र झारलको सिकार गरेका थिए। विद्युतीय बोलपत्रमार्फत छानिएका कम्पनीलाई मात्र विभागले सिकार खेलाउनका लागि अनुज्ञापत्र दिने गर्छ।

कम्पनीले यस वर्षको दोस्रो सिकार याममा नाउर सिकारको न्यूनतम ३ लाख ५० हजारदेखि १४ लाख २५ हजार रुपैयाँसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शमशेर पराजुलीले जानकारी दिएका छन्।

कोभिड–१९ महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक देखिएको उनको भनाई छ।
बन्दाबन्दी र यात्रा प्रतिबन्धनका कारण महामारी सुरु भएको पहिलो वर्ष ढोरपाटनमा सिकार नै हुन सकेको थिएन। सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।