मल अभावले कृषकलाई सधैँ सास्ती


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




तनहुँ । धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् ।

मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले गुनासो गरे । पौडेलले मकै गोड्ने बेला दमौलीमा मल नपाएपछि डुम्रेमा पुगेर मल खरिद गरेर ल्याएको बताए । उनले असारको पहिलो साताबाट धान रोप्ने तयारी गरेका छन् ।

अहिले धानको बीउ राख्ने बेला भएपनि मल नपाउँदा सास्ती भएको उनले बताए । मल खरिद गर्न तीन÷चार पटक बजार धाउँदा पनि मल नपाएको भिमादकी देवी खनालले गुनासो गरे । धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ । वर्षौदेखि रासायनिक मल हालिरहेको खेतबारीमा गोबर मल मात्रैले काम नगर्ने किसान बताउँछन् ।

शुक्लागण्डकीका केदार पौडेलले गोबर मलले मात्रै नहुने भएकाले रासायनिक मल आवश्यक पर्ने बताए । शुक्लागण्डकीकै सुशन पौडेलले मल अभाव हुँदा कृषि पेशामा जाँगर हराउँदै गएको बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाका अनुसार तनहुँँमा वार्षिक एक हजार पाँच सय टन युरिया मल माग हुने गरेकामा चालु आर्थिक वर्षमा पाँच सय टन मात्रै मल भित्रिएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।