निसिखोला गाउँपालिकाले पालिकावासीको निशुल्क स्वास्थ्य विमा गर्ने


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




कविता घर्तीमगर, निसीखोला । बागलुङको निसीखोला गाउँपालिकाले पालिका भित्रका जनताको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेको छ ।

गत वैशाखको स्थानिय तह निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भैसकेपछि पालिकाको पहिलो बैठकबाट यस्तो निर्णय भएको हो ।

शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणको योजना बनाएको स्थानिय सरकारले स्वास्थ्यतर्फ निशुल्क स्वास्थ्य विमासैगै पालिकाको आफ्नै एम्वुलेन्स खरिद गर्ने तथा जेष्ठ नागरिक,अपाङ तथा गर्भवती महिलाहरुलाई प्रत्येक महिना टोलटोलमै पुगेर स्वास्थ्य परिक्षण गर्ने निर्णय गरिएको पालिका अध्यक्ष सुर्य बहादुर घर्तीमगरले बताएका छन् ।

उनका अनुसार निशुल्क स्वास्थ्य विमा कार्यन्वयन गर्नको लागि पालिका अध्यक्ष सुर्य बहादुर घर्तीमगर संयोजक रहने गरि उपाध्यक्ष प्रेम बहादुर घर्तीमगर,गीता साप्कोटा,दिलिप कुमार चन्द,टोप बहादुर चन्द लगाएतको समिती गठन गरिएको छ ।

बजेट तथा कार्यक्रम तर्जुमा ससितीमा उपाध्यक्ष प्रेम बहादुर घर्तीमगर संयोजक रहने गरि प्रमुख प्रशासकीय अधिकृत र योजना शाखाका सचिव रहने जनाईएको छ ।

त्यसैगरि विद्यान समितीमा कुविर विक,टिकानिधी पौड्याल,हर्कमन घर्तीमगर तथा कर्मचारीको तर्फबाट दिलिप कुमार चन्दलाई चयन गरिएको छ ।

बैठकले पालिकामा न्यायीक समिती समेत गठन गरेको छ । जसको संयोजक पालिका उपाध्यक्ष पे्रम बहादुर घर्तीमगर रहेका छन् भने सदस्यमा राजेन्द्र श्रेष्ठ,खिम बहादुर शाही र कार्यलयको तर्फबाट पुरुषोत्तम गौतम रहेका छन् ।

त्यसैगरि राजस्व परामर्श समितीमा उपाध्यक्ष पे्रम बहादुर घर्तीमगर,सदस्यमा चन्द्र बहादुर रामजाली,गीता साप्कोटा,डिलाराम वाठाँमगर लगाएतको समिती गठन गरिएको छ ।

त्यसैगरि योजना अनुगमन तथा मुल्याङकन समितीमा पालिका उपाध्यक्ष पे्रम बहादुर घर्तीमगर,जीवन कुमारी विक,सव राज छन्त्याल,प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य,सचिव पुरुषोत्तम गौतमलाई चयन गरिएको छ । साथै अनुगमन समितीमा एकजना प्राविधिक तथा सम्बन्धित वडाका वडाध्यक्ष आमन्त्रित सदस्य रहने निर्णय गरिएको छ ।

पालिका भित्र आईतबार विदा दिने नदिनेबारेमा अर्काे बैठकमा निर्णय गरिने उपाध्यक्ष प्रेम बहादुर घर्तीमगर बताएका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७९र८०का लागि निसीखोला वडा नं. १का लागि ८ लाख,वडा नं. ४ का लागि ८ लाख, वडा नं.५ का लागि ८ लाख, वडा नं. ६ को लागि ९ लाख ६६ हजार र वडा नं. ७ का लागि ८ लाख विनियोजन गर्ने निर्णय गरेको छ भने अघिल्लो सरकारले २०७८ पौष २७ गतेको बैठकबाट विनियोजन गरेको वडा नं. २ को ८ लाख र वडा नं. ३ मा विनियोजन गरिएको ४ लाख बजेट जोडेर ४१ लाख ६६ हजार बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

त्यसैगरि बैठकमा विषयगत अधिल्लो सरकारको पालामा पशु तथा कृषि तर्फको अनुदान वितरणको सन्दर्भमा दर्ता भएको निवेदन कार्यलयमा पशुतर्फ माग गरिएको सुचना पुन ७ दिनको सुचना प्रकाशित गर्ने र तोकिएको समयमा आएका निवेदनहरु छानविन गरि सम्बन्धित शाखाबाट प्रतिवेदन तयार गरि पेश गर्न लगाएने निर्णय भएको छ ।

पालिकामा आफ्नै एम्लुलेन्स खरिद प्रकृया अगाडी बढाउनको लागि उपाध्यक्ष प्रेम घर्तीमगरलाई जिम्मेवारी दिईएको छ । आगामी आर्थिक वर्षको योजना छनौट तथा गाउँसभाको सम्बन्धमा पालिका अन्तर्गतका प्रत्येक वडा तथा टोलमाबाट छनौट गरि आगामी असार २ गते सम्ममा पालिकामा पेश गर्ने निर्णय गरिएको छ भने उक्त कार्यको सहजीकरण गाउपालिकाले गर्ने जनाईएको छ ।

साथै बैठकले पालिकाको प्रवक्तामा कार्यपालिका सदस्य हेम बहादुर बुढामगरलाई जिम्मेवारी तोकेको छ भने देविस्थान वाग्लुङको १० गाउँसभा असार १० गते गर्ने निर्णय गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।