कामको भारमा बालबालिका


     एभरेस्ट आवाज    
     जेठ २६ गते २०७९ मा प्रकाशित





बझाङ। यहाँका १६ वर्षीय लोकेश सिंह १० कक्षामा पढ्छन् । उनका भाइ अविशेक अहिले १३ वर्षका भए उनी ६ कक्षामा अध्ययनरत छन् । जेठको पहिलो हप्ताबाट उनीहरूकोे विद्यालय चलिरहे पनि उनीहरूलाई भने विद्यालय र पढाइभन्दा खेतीपाती लगाउने कामको चिन्ता र चटारो छ ।

लोकेशका बाबु लखन छ महिनाअघि कामको खोजीमा भारत हिँडेपछि उनीहरूमाथि खेतीपातीलगायत घरको कामको सम्पूर्ण जिम्मा थोपरिएको हो । अहिले उनको घरमा आमा र दुई भाइमात्र छन् । महिलाले हलो जोत्नेलगायतका खेतीपातीका काम गर्ने चलन नभएका कारण उनीहरुलाई कामको बोझ आइलागेको हो ।उनी मात्र नभएर उनका गाउँका अधिकांस बालबालिकाको दैनिकी यस्तै छ ।

लोकेशको गाउँ कैलासबाट मात्र ५०० भन्दा बढी पुरुष कामको खोजीमा भारतमा छन् । जिल्लाभरबाट कति मानिस भारत गएका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि यस वर्ष मात्र बझाङबाट १० हजारभन्दा बढी भारत गएको अनुमान छ ।


घरको कामधन्दा चलाउने र खेतीपाती लगाउने मानिस घर नफर्केपछि जिल्लाका हजारौँ बालबालिकामाथि कठोर शारीरिक श्रम गरेर घरपरिवार चलाउने जिम्मेवारी परेको छ ।

कार्यबोझका कारण पढाइप्रति ध्यान दिने समय नपाउँदा पठनपाठन प्रभावित भएको बालबालिका बताउँछन् ।बालबालिकामाथि कामको बोझ थपिएपछि पढाइमा पनि कमजोर हुने गरेको नारायण माध्यमिक विद्यालय कैलासका शिक्षक लोकेन्द्रबहादुर सिंहले बताए ।
घरमा काम गर्ने मानिस नभएकाले बालबालिका पनि पढाइभन्दा घरको कामप्रति नै बढी चिन्तित हुने गरेको उनको भनाइ छ ।रासस
–––


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।