श्रमिकको सुरक्षामा सरकार कटिबद्ध छ : गृहमन्त्री खाण


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाणले श्रमिकको सुरक्षामा सरकार कटिबद्ध रहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले मजदुर र श्रमिकको सुरक्षाका लागि गृह मन्त्रालय दत्तचित्त भएर लागिपर्ने उल्लेख गरे ।

“गरिबीको रेखामुनि रहेका श्रमिकलाई कसरी सहज रुपमा अगाडि बढाउन सकिन्छ त्यही हाम्रो लक्ष्य हुनुपर्छ, श्रमिकको हक, हित र सुरक्षा गर्ने सरकारको मुख्य दायित्व हो,” मन्त्री खाणले भने । मुलुकमा राजनीतिक परिवर्तन भए पनि आम नागरिकको जीवनमा परिवर्तन ल्याउन नसकिएको उल्लेख गर्दै उनले आम नागरिकको जीवनमा परिवर्तन ल्याउन सबै लाग्नुपर्ने बताए । कोरोना महामारीमा श्रमिक र मजदुर ठूलो समस्यामा परेको उनको भनाइ थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको जग नै मजदुर आन्दोलन भएको मन्त्री खाणले सो अवसरमा स्मरण गरे । “प्रजातान्त्रिक आन्दोलनभन्दा मजदुर आन्दोलन जेठो हो, प्रजातान्त्रिक आन्दोलन र मजदुर आन्दोलन एक सिक्काका दुई पाटा हुन्,” उनले भने । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।