स्याङ्जा जिल्ला समन्वय समिति (जिसस) मा गोलाप्रथाबाट नेतृत्व टुंग्याइएको छ।
नेपाली काँग्रेस र नेकपा (एमाले)ले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्वको चयन गरेका हुन्।
११ स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट ११÷११ जना निर्वाचित भएपछि प्रमुखसहित ४ सदस्य र उपप्रमुखसहित ५ सदस्य रहनेगरी गोलाप्रथा गरिएकामा प्रमुखसहित ४ सदस्य काँग्रेसलाई र उपाध्यक्षसहित ५ सदस्य एमालेलाई परेको हो।
प्रमुखसहित ४ सदस्य नेपाली काँग्रेसले पाउने भएपछि पार्टीको बैठकले निर्णय गरेर उम्मेदवार टुंग्याएको काँग्रेस प्रवक्ता भरतराज लम्सालले जानकारी दिए। उनका अनुसार नेपाली काँग्रेसले प्रमुखमा श्रीप्रसाद जिटीसहित सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँणलाई सिफारिस गरेको छ। पार्टीमा लामो समयसम्म संघर्ष गरेको र पार्टीप्रति देखाइएको योगदानको कदर गर्दै समन्वय प्रमुखमा पठाउने निर्णय गरिएको प्रवक्ता लम्सालले जानकारी दिए।
काँग्रेसका पूर्वजिल्ला सभापति, नेविसंघका संस्थापक सभापति रहेका जिटीले प्रजातन्त्र स्थापनाका लागि पटकपटक जेल जीवन बिताएका थिए। एमालेले उपप्रमुखसहित सदस्यको नाम टुंग्याउनका लागि अहिले छलफलमा जुटेको पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए। पार्टीको शीर्ष नेतृत्व अहिले छलफलमा रहेकाले केहीबेरमा अन्तिम नामावली सार्वजनिक गरिने उनले बताए।
जेठ ३१ गते जिससको निर्वाचन गर्ने गरी आइतबार मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए। ५ नगरपालिका र ६ गाउँपालिका गरी ११ स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष गरी २२ जनाले मतदान गर्न पाउनेछन्। स्याङ्जाका ११ स्थानीय तहका ९७ वडाबाट निर्वाचित भएका नगर तथा गाउँसभाका सदस्य उम्मेदवार बन्न पाउनेछन्।
११ स्थानीय तहका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष गरी २२ जनामध्ये नेपाली काँग्रेसका ११ जना र नेकपा एमालेका ११ जना छन्। जिससमा दुवै राजनीतिक दलबाट ११÷११ जना अर्थात् संख्या बराबरी छ। जिससमा अध्यक्ष, उपाध्यक्ष, ३ महिला सदस्य, १ दलित वा अल्पसंख्यक, ३ अन्य सदस्य गरी कूल ९ जना निर्वाचित हुनेछन्।
जिल्लासभाका प्रमुख र उपप्रमुखमा जिससकै प्रमुख र उपप्रमुख रहने व्यवस्था छ। जिसस गठन भएसँगै जिल्लासभा गठन हुनेछ। जसमा नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख पदेन सदस्य रहनेछन्। यसअघि, २०७४ को निर्वाचनबाट जिससको अध्यक्ष, उपाध्यक्षसहित सबै प्यानलमा नेकपा एमाले विजयी भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







