पाल्पा । समाजमा हुने लैङ्गिक हिंसा रोक्न पाल्पाका महिला जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । लैङ्गिक हिंसा बढ्नुका कारण पहिचान गरी निराकरण गर्ने पाल्पा तानसेन नगरपालिकाका महिला जनप्रतिनिधिले अठोट गरेका छन् ।
गाउँघरमा मादक पदार्थ सेवन तथा लागुऔषध सेवनका कारण हिंसाजन्य घटना बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेनमा गरेको ‘लैङ्गिक हिंसा तथा लागुऔषध नियन्त्रण विषयक’ अन्तक्र्रिया कार्यक्रममा टोलटोलमा गएर मादक पदार्थ सेवन तथा नियन्त्रणका लागि जनचेतना जगाउने, कानुनी कुराका बारेमा सचेतना फैलाउने, हिंसाका घटनाका बारेमा प्रहरी, प्रशासनमा जानकारी गराउने त्यहाँका महिला जनप्रतिनिधिले बताएका छन् ।
नगरका १४ वटा वडामा हिंसाजन्य कार्यविरुद्ध सक्रिय भएर लाग्ने उनीहरुले बताएका छन् । महिला हिंसा, लैङ्गिक हिंसा नियन्त्रण तथा रोकथामका लागि नवनिर्वाचित महिला जनप्रतिनिधि र पाल्पाका १० वटै पालिकाका सामाजिक शाखाका प्रमुख तथा प्रतिनिधिबीच जिल्ला प्रशासन कार्यालय पाल्पाले छलफल अन्तक्र्रिया गराएको हो ।
घरेलु रक्सी, जाँड जस्ता मादक पदार्थ सेवनका कारण महिला हिंसाका घटना हुने गरेकाले गाउँ, सहरमा लुकिछिपी हुने घरेलु मदिराको उत्पादन, बेचबिखन तथा ओसारपसारमा महिला जनप्रतिनिधि चनाखो हुनुपर्ने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए।
“लैङ्गिक हिंसा समाजमा बढ्दै गएको छ, घरेलु मदिरा उत्पादन, बेचबिखन, ओसारपसार जस्ता गतिविधि नियन्त्रण गर्नसके महिला हिंसा ९० प्रतिशतले घट्नेछ”, उनले भनिन् । लैङ्गिक हिंसाअन्तर्गत ९० प्रतिशत महिला र १० प्रतिशत पुरुषपीडित भएको उजुरी पर्ने गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, घरधन्दादेखि कार्यालयका काम, बिहानदेखि साँझसम्मका काम महिलाहरुले गर्नुपर्ने, हिंसामा पनि महिला परेको अवस्थामा जनप्रतिनिधिले यस्ता विषयमा जानकारी लिई नियन्त्रणको अभियान चलाउनुपर्ने बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







