मल आउनै बाँकी ः झापामा रोपाइँ सुरु


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०७९ मा प्रकाशित





झापा। मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताए ।

उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नं १ को कृषि मन्त्रालयले नै प्रमाणित गरेर सो मात्रामा विर्तामोड कार्यालयलाई मल पठाउने पत्रचार गरेको जानकारी दिए । उनले झापाका लागि ८५०, इलामलाई १००, पाँचथरमा ७० र ताप्लेजुङका लागि ३० मेट्रिक टन मल आउने जानकारी दिए ।

प्रमुख भट्टराईले कार्यालयमा आएको मललाई कुन पालिकामा कति र कसरी पठाउने भन्नेबारे कृषि ज्ञान केन्द्रसँगको परामर्शमा वितरण गरिने बताए । १५ वटा पालिका रहेको झापामा भने एउटा पालिका बराबर एक हजार १३० बोरा मल मात्र भागमा पर्ने उनको भनाइ छ ।झापामा कृषियोग्य जमिनमध्ये ८८ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले हाल जिल्लामा नौ हजार मेट्रिक टन डिएपी मल आवश्यक रहेको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।