सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने


     एभरेस्ट आवाज    
     असार १ गते २०७९ मा प्रकाशित





काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ । सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहर स्रोतमा नै व्यवस्थित हुने भन्दै नगरपालिकाहरुसँगको सहकार्यमा यसलाई अघि बढाउन लागेको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ठूला सहरहरुमा फोहरमैला व्यवस्थापन समस्याका रुपमा रहेको बताए । व्यक्तिले फोहर गरेपछि त्यसको विसर्जन पनि सम्बन्धितकै पैसाबाट गर्ने भएपछि स्रोतमा वर्गीकरण हुने उनले बताए । फोहरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको भएको र दुई स्थानीय तहको निर्वाचन भएपनि अहिलेसम्म ठूला सहरमा समस्या ज्यूँका त्यूँ भएको उहाँको भनाइ थियो ।

मन्त्रिपरिषद्ले स्थानीय तहमा फोहरमैला व्यवस्थापनमा प्राविधिक सहायता उपलब्ध गराउन मन्त्रीको अध्यक्षतामा फोहरमैला व्यवस्थापनका लागि प्राविधिक केन्द्र बनाएको छ । कुन फोहरलाई कसरी विसर्जन गर्ने भनी सहायता गर्ने उद्देश्य रहेको सो केन्द्रको सङ्गठन र व्यवस्थापन ९ओएन्डएम० बन्ने क्रममा रहेको उनले जानकारी दिए ।

मन्त्रालयले बञ्चरेडाँडामा निर्माण गरेको फोहर व्यवस्थापन केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गरिने र स्थानीयवासीका समस्या समाधन गर्दै अघि बढ्न आफूले समन्वय गरिरहेको मन्त्री झाँक्रीले बताए । नुवाकोटको सिसडोलमा दुई वर्षका लागि बनाइएको ठाउँमा १७ वर्षसम्म फोहर फाल्दा समस्या आएको सो अवसरमा जानकारी दिइयो । स्थानीयवासीको स्वास्थ्य लगायतका समस्या समाधानमा लागिएको जनाइएको छ ।

नास्टको अध्ययनका आधारमा गन्ध हटाउन महानगरपालिकाले काम गर्ने छ । बञ्चरेडाँडामा निर्माण सुरु गरिएको भए पनि विभिन्न कारणले सुस्त रहेको ‘ल्यान्डफिल साइट’ को निर्माण समस्या समाधान गरेर अघि बढाइएको छ । असारसम्ममा सो सम्बन्धी निर्माण सम्पन्न गर्न लागिएको उनले जानकारी दिए । विगतमा सरकारले स्थानीयवासीसँग सम्झौता धेरै गरे पनि कार्यान्वयन नहुँदा पटक पटक फोहोर व्यवस्थापनमा कठिनाइ भएको छ ।

अहिले फोहरमैला व्यवस्थापनकै लागि सडक स्तरोन्नति गर्ने र फोहर बोक्ने डेडिकेडेट सडक बनाउने जनाइएको छ । बञ्चरेडाँडामा सिसडोलको कथा दोहोरिन नदिने गरी विसर्जन गरिने मन्त्री झाँक्रीको प्रतिबद्धता छ ।नागरिकको मौलिक अधिकारका रुपमा सुरक्षित आवास रहेकाले सबै वर्गलाई आवासको व्यवस्था गरिने मन्त्री झाँक्रीले बताएका छन् । दलित, विपन्न लगायतलाई स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा आवास अघि बढाइने छ ।

बस्ती विकासका कार्यक्रमले सबै क्षेत्रलाई समेटेको छ । सघन सहर कार्यक्रमअन्तर्गत ५१ नपा छानिएको र विभिन्न कार्यक्रममार्फत सहरको सौन्दर्य बढाइने छ । मन्त्रालयले गर्ने ५० लाखको कार्यक्रमले प्रभाव नदिने भए पनि दबाब चाहिँ साना कार्यक्रममा बढिरहेको जनाइएको छ । जग्गा प्राप्ति नहुँदा एकीकृत बस्ती निर्माणमा समस्या हुने उनको भनाइ छ । हाल ३२ सभा हल सम्पन्न हुने क्रममा भए पनि स्थानीय तहमा हस्तान्तरण हुने वा नहुने अन्यौल रहेको मन्त्री झाँक्रीले बताए ।

अर्बौं लगाएर बनाएका हल कसरी सञ्चालन गर्ने भनी स्थानीय तहमा अन्यौलता देखिएको छ । सहरी क्षेत्रमा सडक खन्ने, बन्ने र पुनः खन्ने कुराको अन्त्यका लागि युटिलिटी करिडोरसम्बन्धी कानुन अघि बढाइएको छ । चालु अधिवेशनमा नै विधेयक संसद्मा लैजान तयारी गरिएको छ । काठमाडौँमा कतिपय स्थानमा अप्टिकल फाइबर बिच्छ्याइएको भए पनि धेरै ठाउँमा लागू भएको छैन ।आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि काठमाडौँ उपत्यकामा स्याटेलाइट सिटी बनाउन तयारी अघि बढाएको उनले बताए । बाहिरी चक्रपथ बनाइने कुरा काममा परिणत हुन नसकेको उहाँको भनाइ थियो ।

सिंहदरबारको मास्टर प्लान अघि बढाइने मन्त्री झाँक्रीले बताए । सिंहदबारमा कुन कुन कार्यालय हुने र बिदाका दिनमा विद्यार्थीलाई कसरी जान पाउने व्यवस्था मिलाइने भनी योजना बनाइनेछ । विपद् समयमा आवश्यक पर्ने हुँदा घना सहरभित्र केही केही ठाउँ खाली राख्नुपर्ने उनले बताए । सडक विभागले द्रुत बाटो बनाउने र छेउमा सटर राख्दा त्यही सडक ३०÷४० किमीको सडक बन्नसक्ने उनको भनाइ छ ।

नगर विकास कोषलाई वित्त निगमका हिसाबले विकास गरेर ठूलो संस्था बनाउन लागिएको छ । हाउस पुलिङमार्फत व्यक्तिको स्वामित्वमा बनेका घरहरुलाई बहुस्वामित्वको घर बनाउन सकिने छ । आयोजना छान्दा सन्तुलनका साथ छानिएको मन्त्री झाँक्रीको दाबी छ । २२ कार्यान्वयन इकाइमार्फत स्वचालित रुपमा आयोजना छनोट भएको छ । सङ्घीय सरकारले रु २० करोड माथिका र आयोजना बैङ्कमा दर्ता भएकालाई बजेट विनियोजन गरेको उनले बताए । सुरक्षित आवास र जनता आवास सशर्त कार्यक्रमका रुपमा प्रदेशमा गएको जनाइएको छ ।

त्यहाँको सञ्चित कोषमा रकम गएपछि कार्यक्रम सञ्चालन हुने उनले बताए । योजना छनोट गर्दा सीमित स्रोतबाट असीमित काम गर्नुपर्ने हुँदा कुनै योजना नपरे पनि योजनागत विकास अघि बढाइएको छ । सहरीकरण र विकास सम्पदाको विनाशबाट नभएर सम्पदाको संरक्षण गरेर गर्न सकिने मन्त्री झाँक्रीले बताए । उपत्यकाको सडक विस्तार भएकाले यहाँको सम्पदामा आधारित सहर ‘रिजेनेरेट’ गर्न सकिने उनको भनाइ छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।