बैतडीमा खोरेत रोगको समस्या


     एभरेस्ट आवाज    
     असार २ गते २०७९ मा प्रकाशित





बैतडी। जिल्लाका चार स्थानीय तहका घरपालुवा पशुमा खोरेत रोगको समस्या देखा परेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको समस्या देखिएको हो ।रोग देखापरेका ठाउँमा खोरेतविरुद्धको खोप अभियानसमेत सञ्चालन गरिएको छ ।

अहिले गाउँगाउँमा पुगेर प्राविधिकले खोप लगाउन थालिएको केन्द्रले जनाएको छ । रोगको समस्या देखिएको ठाउँमा अन्य पशुलाई रोग नलागोस् भनेर खोप दिइने गरिन्छ । केन्द्रले खोरेत रोगविरुद्ध खोप निःशुल्क उपलब्ध गराएको छ भने सम्बन्धित पालिकाका प्राविधिकले खोप लगाउने काम गरिरहेका छन् ।पशुहरूमा खोरेत रोग देखिएमा मुखमा घाउ हुने, खुट्टाको काप र खुरमा घाउ हुने , हिँड्न नसक्ने, जिब्रोमा समेत असर हुनेलगायतका लक्षण देखा पर्दछन् ।

रोग लागिसकेपछि निको हुने सम्भावना कम हुने गरेकाले गोठ सफा राख्ने, सरसफाइमा विशेष ध्यान दिन किसानलाई सुझाव दिइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।