‘मेन्था’ उत्पादन आधा घट्यो


     एभरेस्ट आवाज    
     असार ३ गते २०७९ मा प्रकाशित





टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा यस वर्ष जडीबुटी मेन्था उत्पादन अघिल्लो वर्षको तुलनामा आधा कम भएको छ । यस वर्ष मेन्था खेती ढिलो रोपाइँ र सिँचाइ अभाव भएपछि उत्पादन घटेको हो । गत वर्ष यहाँ दुई हजार १०० लिटर मेन्थाको तेल उत्पादन भएको थियो तर यस वर्ष एक हजार ४०० लिटरमात्र उत्पादन भएको छ ।

जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरले यस वर्ष दुई हजार ५०० लिटर तेल उत्पादन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले किसानलाई खेतीका लागि न्यूनतम मूल्यमा बीउ उपलब्ध गराउने, निःशुल्क प्रशोधन, प्राविधिक सल्लाह दिने गरेको छ ।टीकापुरका दिलबहादुर चौधरीले यस वर्ष एक बिघामा मेन्थाखेती गरेका थिए।

प्रतिकट्ठा औसतमा चार लिटर मेन्था तेल उत्पादन हुनुपर्नेमा यस वर्ष एक बिघा जमिनमा जम्मा १० लिटर मात्रै उत्पादन भयो । मेन्थाको तेल प्रतिलिटर रु एक हजार १५० मा बिक्री हुन्छ । टीकापुर नगरपालिका वनगाउँकी अस्मिता चौधरीले १० कट्ठा क्षेत्रफलमा मेन्था रोपेका थिए । उनले फागुनको पहिलो साता रोप्नुभयो तर उनको मेन्था खेती राम्रो उत्पादन भएन । यस वर्ष मेन्था खेतीले घाटा मात्र नभई निराश बनाएको उनको गुनासो छ ।

धान रोप्नुभन्दा पहिला आम्दानी प्राप्त हुने खेतीका रुपमा रहेको मेन्था खेतीप्रति उत्साहित भएका किसानले यस वर्ष नोक्सानी बेहोेरेका छन् । खेती गर्न सहज, लगानी कम लाग्ने खेती भए पनि यो वर्ष लागत मूल्यसमेत प्राप्त नहुँदा किसानलाई घाटा भएको वनगाउँका अर्का किसान पार्वती चौधरीले बताए ।मेन्था धान र तोरीखेती पछिको तेस्रो बालीका रुपमा गरिन्छ । यहाँका किसानले तेस्रो बालीका रुपमा सहजै खेती गर्न सकिने भएकाले मेन्थाखेती गर्ने गरेका छन् ।

यस वर्ष टीकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँपालिका क्षेत्रमा १०१ किसानले ४० बिघा क्षेत्रफलमा मेन्थाखेती गरेका जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरले जानकारी दिएको छ । एक सय १० दिनमा तयार हुने मेन्थाखेती यस वर्ष रोप्ने समयमा किसानले ढिलाइ भएको र सिँचाइ पर्याप्त नहुँदा खेती राम्रो नभएको जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरका प्रमुख कमल बेल्वासेले बताउनुभयो ।

मेन्थाको तेलबाट रुघाखोकी लाग्दा प्रयोग हुने सञ्चो लगायतका तेल उत्पादन हुने गरेका छन् । कार्यालयले किसान आफैँले प्रशोधन गरेको तेल पनि किन्ने गरेको छ ।कार्यालयसँग प्रशोधनका लागि पर्याप्त मेशिन छन् । तर बेर्ना उत्पादनका लागि जमिन अभाव छ । कार्यालयसँग जम्मा तीन हेक्टर जमिन छ । दुई हेक्टरमा बेर्ना उत्पादन हुने गरेको छ । कार्यालय परिसरमा उत्पादन हुने बेर्ना ४० बिघाका लागि मात्र पुग्ने गरेको बेल्वासे बताउछन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।