विद्युत आपुर्ति सहज होस : लेखनाथ होटल व्यावसायी


     एभरेस्ट आवाज    
     असार ४ गते २०७९ मा प्रकाशित




विद्युत आपुर्ति सहज गराउन लेखनाथ होटल व्यावसायीले माग राखेका छन्।

होटल तथा रेस्टुरेन्ट एशोसिएसन लेखनाथले तालचोकस्थित नेपाल विद्युत प्राधिकरण शाखालाई ध्यानाकर्षण जानकारी गराएको हो।

विद्युत आपुर्तिमा असहजता आएसँगै होटल तथा रेस्टुरेन्ट व्यवसायमा समस्या परेको उनीहरुको भनाई छ। विद्युत सेवा अवरुद्धसँगै लेखनाथ क्षेत्रको पर्यटन क्षेत्रमा आँच आएको उनीहरुको दाबी छ। विद्युत अवरुद्ध भइदिदाँ होटल तथा रेस्टुरेन्टमा प्रयोग हुने तरकारी, माछामासुजन्य पदार्थ कुहिने, इन्टरनेट सेवा लगायत वातानुकुलित अवस्थामा असर परेका कारण व्यवसाय नै धरापमा पर्न गएको उनीहरुको जिकिर छ।

‘पानी पर्न थाल्छ, विजुली जान्छ। हावा चल्न थाल्छ, विजुली जान्छ। गड्याङ गुडुङ गर्छ, बिजुली जान्छ। अनि रातभर बिजुली हुँदैन। दिनमा मर्मत, संभार गर्ने निहुँमा विजुली कति पटक आउने–जाने हुन्छ, थाहा हुँदैन। यसरी, विजुली अवरुद्ध हुँदा हाम्रा होटल तथा रेस्टुरेन्टहरुमा प्रयोग हुने आवश्यक तरकारी, माछा मासुजन्य र खाद्य सामग्रीहरु नष्ट भइरहेका छन्। गर्मीको सिजनमा एसी तथा पंखा चलाउन नपाउँदा, इन्टरनेटको सेवा लिन नपाउँदा पाहुनाहरुको बसाई घटेका छन्। पटक–पटक विजुली आउने–जाने, बढि भोल्टेजका कारण बल्ब र अन्य विद्युतीय सामग्रीहरु जल्ने र बिग्रने समस्याबाट गुज्रेका छन्,’ व्यावसायीहरुले ध्यानाकर्षणपत्रमा उल्लेख गरेका छन्।

विद्युत अवरुद्धका कारण होटल तथा रेस्टुरेनट व्यावसायी मात्र नभई आम सर्वसाधारण उद्योगी, व्यापारी, विद्यार्थी, किसान, मजदुर मर्कामा परेको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

विद्युत आपुर्ति बनाउन आवश्यक उपकरणहरु जडान गर्ने, हाइ टेन्सन आसपासका रुखहरुलाई आवश्यकता अनुसार समय समयमा काँटछाँट गर्ने, मर्मत संभार कार्यलार्ई छिटो छरितो बनाउन,े मर्मत, संभारको टिमलाई विद्युत आपुर्ति गर्ने उपकरणलाई जहाँ बिग्रन्छ, उपयुक्त क्षेत्रमा राख्ने, जहाँ प्राविधिक समस्या आउँछ, त्यहीँ मात्र बत्ती काट्ने व्यवस्था हुनुपर्ने र नो लाइट शाखाको टेलिफोनलाई प्रभावकारी बनाउन व्यवसायीहरुका सुझाव छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।