आर्मीका टमाटाले जिते राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि


     एभरेस्ट आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित




आर्मीका हिमाल टमाटाले राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि जितेका छन्।

पोखरामा आयोजित पुरुषतर्फ एपीएफका लक्ष्मण मल्ल दोस्रो र कास्कीका हिक्मत वि.क. तेस्रो बने।

यस्तै, महिलातर्फ आर्मीकी उषा खनाल पहिलो, लक्ष्मी मगर दोस्रो र इन्द्रकुमारी तामाङ तेस्रो बनिन्। पुरुषतर्फ ७६ र महिलातर्फ ५ जना सहभागी थिए। महिला र पुरुषको छुट्टाछुट्टै स्पर्धा भएको थियो।

पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु भएको साइकल दौड भलाम, मौजा, आँटीघर, अर्मलाकोट, ढिँकीडाँडाबाट फर्किएर कालिखोलामै आइपुगेको थियो।

दुवै प्रतिस्पर्धामा पहिलोले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पुरस्कार हात पारे। पोखरा महानगरपालिकाले नगर क्षेत्रमा साइकल लेन समेत निर्माण गरिरहेको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो।

४५ किलोमिटर दुरीको प्रतियोगितामा ३ जना विदेशीको समेत सहभागिता थियो। पोखरालाई साइकल सिटीको रुपमा विकास गर्ने र नवौँ राष्ट्रिय खेलकुदका लागि टेवा पुग्ने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष दीपक गोदारले बताएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।