किसानलाई सूर्यमुखी स्याहार्ने चटारो


     एभरेस्ट आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित





रामपुर । कुनै समय घर आँगनका डिलमा सौखका रुपमा लगाइने सूर्यमुखी अहिले भने पाल्पामा व्यावसायीकरण हुँदै गएको छ । घरको सौन्दर्यता बढाउन केही बोट आँगनका डिल र घर वरिपरी लगाउने गरिन्थ्यो । हिजोआज भने किसानले सौन्दर्यतासँगसँगै आयआर्जन गर्ने गरी खेती गर्दै आएका छन् ।

रम्भा गाउँपालिका–१ सगाहाका किसान सूर्यमुखी खेती स्याहार्न व्यस्त छन् । यहाँ व्यावसायीक रुपमा खेती लगाइएको हुँदा फूल टिप्ने, घरमा लगेर फल झार्ने र भण्डारण गर्ने कार्यमा किसानको दैनिकी बितेको छ । खेतमा पाकेको सूर्यमुखी टिप्ने र घरमा भित्र्याउने चटारो रहेको ऋषिराम अर्याल बताउछन्।

उनलाई करिब छ रोपनी जग्गामा लगाइएको सूर्यमुखी टिपेर स्याहार्न भ्याइनभ्याइ छ । यस वर्ष करिब नौमुरी उत्पादन हुने उहाँको अनुमान छ । यस पटक करिब १५० लिटर तेल उत्पादन हुने उनी बताउछन ।उनले गतवर्ष तीन रोपनी जग्गामा लगाइएको सूर्यमुखीबाट पाँच मुरी उत्पादन भएकामा त्यसलाई प्रशोधन गरेर ७५ लिटर तेल उत्पादन लिएका थिए । पहिलो वर्षमा नै उत्पादन राम्रो भएपछि अर्यालले छ वर्षयता मकै खेती लगाउन छाडेर निरन्तररुपमा सूर्यमुखी खेती लगाउँदै आएका छन ।उनले यसको खेती सुरु गरेदेखि बजारबाट तेल खरिद गर्नु नपरेको बताए ।

अहिले उत्पादन भएको सूर्यमुखी प्रशोधन गरेर प्रतिलिटर रु ८०० मा बिक्री गर्ने सोच उनको छ । कम्पोष्ट मल प्रशस्त दिन सकियो भने उत्पादन धेरै लिन पाइने र रासायनिक मलले उत्पादन बढाउन नसकिरहेको अर्यालको अनुभव छ । उनले अहिले रासायनिक मल प्रयोग गर्न छाडेका थिए ।

सूर्यमुखीकै लागि उनले घरमा चार भैँसीपालन गरेका छन । उनका अनुसार उपयुक्त समयमा लगाउने, मलजल सबै मिलाउन सक्यो भने यसबाट किसानले राम्रो आर्थिक लाभ लिनेछन् । सोही ठाउँकै नोलराज रानाभाट करिब डेढ रोपनीमा लगाइएको सूर्यमुखी स्याहार्ने तयारीमा छन । छिमेकीले सूर्यमुखीबाट राम्रो तेल उत्पादन गरेको देखेपछि उहाँले यस वर्ष पहिलो पटक खेती गर्नुभएको हो ।पहिलो वर्षमा नै उत्पादन राम्रो भएपछि अब अर्को वर्ष विस्तार गर्ने उनी बताउछन । सगाहकै अर्का किसान मित्रसिं थापाले करिब तीन रोपनीमा लगाइएको सूर्यमुखीको उत्पादन लिँदै छन ।

यसभन्दा अघि १० रोपनीमा मकै खेती गर्दै आएका थापाले बाँदरको समस्याले सूर्यमुखी लगाएका हुन । यसबाट राम्रो उत्पादन हुने भएपछि उनी उत्साहित छन ।यसको तेल पेलेको पिना पशुलाई खुवाएमा राम्रो हुने किसानले बताएका छन् । पाल्पामा यसवर्ष रामपुर, रम्भा र रैनादेवी छहरा क्षेत्रमा व्यावसायिक रुपमा सूर्यमुखी खेती गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउछन ।

सूर्यमुखी खेती प्रवद्र्धन गर्दै कार्यालयले सिँचाइ, बीउ, प्रविधिमैत्री सामान, विषादी, मलखाद लगायतमा खर्च गर्ने गरी रामपुर नगरपालिका– ५ स्थित बेझाड खेतमा रु १० लाख रकम विनियोजन गरी कार्यक्रम गरेको उनले बताए ।तोरी बालीको उत्पादन लिएका, खाली जग्गा, पानी नजम्ने जग्गा छनोट गरी अर्को वर्ष सूर्यमुखीको खेती विस्तार गर्ने कार्यालयले योजना बनाएको उनले बताए। यस वर्ष बेझाड खेतमा कृषि ज्ञान केन्द्रको सहयोगमा करिब १५० रोपनी क्षेत्रफलमा सूर्यमुखीको खेती गरिएको खजनीखोला बेझाडखेत सिँचाइ आयोजनाका अध्यक्ष बलबहादुर रानाले बताए ।

यस वर्ष ज्ञान केन्द्रको सहयोगमा सूर्यमुखीका अलवा कुलो निर्माणका काम भइरहेका छन् । सूर्यमुखी खेती लगाउन हिजोआज किसानको उत्साह बढ्दै गएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउछन । गत वर्ष सूर्यमुखी लगाएका किसानले यस वर्ष पनि रामपुरमा निरन्तरता दिएका छन् ।

सूर्यमुखी खेतीका लागि अनिवार्य आवश्यक पर्ने सल्फरयुक्त मलको प्रयोग किसानले नगर्दा भने फूल अत्यन्त राम्रो देखिए पनि फल भने कम लाग्ने गरेको शाखा प्रमुख पाण्डेयले बताए । परम्परागतरुपमा जग्गा नबाँझियोस् भन्नका लागि मात्रै मकै खेती गरेका किसानलाई गत वर्षदेखि सूर्यमुखी खेतीको कार्यक्रम परेपछि यसतर्फ भने आकर्षण बढ्दै गएको पाइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।