एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै


     एभरेस्ट आवाज    
     असार ७ गते २०७९ मा प्रकाशित




राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ।

बोर्डका अनुसार प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ। असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारीका साथ अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ। कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बोर्डले बताएको छ।

कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ।

यसअघि ४ महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब २ महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको बोर्डले दाबी गर्दै आएको छ। कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भएपनि २ वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा संचालन गरेको थियो।

यस वर्ष २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।