विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा


     एभरेस्ट आवाज    
     असार ७ गते २०७९ मा प्रकाशित





मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट नछुटोस् भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो ।

आर्थिक अभावका कारणले नै यहाँका नागरिक नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । स्वास्थ्य बीमा नहुँदा यहाँका नागरिकले बिरामी हुँदा उपचारसमेत गराउन नसकेको उनको भनाइ थियो ।

अस्पतालमा उपचार खर्च तिर्न नसक्दा धेरै पटक आफूले जिम्मेवारी लिएर डिस्चार्ज गरेको उनको भनाइ छ । स्वास्थ्य बीमा नहुँदा उपचारका लागि चन्दा उठाउनुपर्ने बाध्यतासमेत रहेको भन्दै अध्यक्ष गुरुङले विपन्न परिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गर्ने गाउँपालिकाले निर्णय गरेको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।