रणवाङमा चैते धानखेती सफल


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित




म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो ।

उनका अनुसार त्यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन, बागलुङको मुलपानीबाट बिँउ ल्याएर गरेको चैते धान खेती सफल भएको छ ।

माघको अन्तिम साता धुले ब्याड राखेर जमाएको धान चैत १२ गते रोपिएको थियो । करिब तीन रोपनी क्षेत्रफलमा लगाएको धानको बाला राम्रो लागेको र पाकेर भित्र्याउने तयारी गरेको मल्लले बताए । बर्खामा लगाउने गौरी, जेठोबुढो जत्तिकै उत्पादन भएको उनको भनाइ छ ।

बर्खे धान जत्तिकै पुष्ट दाना र पराल सफा भएको मल्लले बताउनुभयो । रणवाङ समुन्द्री सतहदेखि एक हजार ५० मिटर उचाइमा अवस्थित छ । सम्मा फाँट भएको यहाँ हालसम्म वर्षमा एकबाली मात्र धान खेती हुन्छ ।

मङ्गला गाउँपालिकाको कृषि शाखाका प्रमुख तारा बानियाँ ९जगत०ले पालिका क्षेत्रमा रणवाङमा पहिलो पटक चैते धान उत्पादन भएको बताए । तराइ, भित्री मधेश र केही पहाडी जिल्लामा चेतै धान खेती हुने गरेको छ ।

म्याग्दीको बेनी नगरपालिका–१ को ढोडेनी, सारेमारे र सिममा मात्र चैते धानखेती हुने गरेको थियो । रणवाङ भन्दा केही कम उचाइमा अवस्थित पिपलबोट, सेराफाँटका कृषकले केही वर्षअघि चैते धान खेतीको प्रयास गर्दा सफल भएको थिएन् । सिँचाई सुविधा भएकाले रणवाङमा चैते धान खेती गर्न सम्भव भएको हो ।

हावापानी, तापक्रम र मौसम अनुकुल भएकाले चैते धान खेती सफल भएको कृषक मल्लले बताए । कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले चैते धानखेतीको सम्भाव्यता अध्ययन गरिने बनाउने बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।