मूल्य वृद्धिको मारमा किसान


     एभरेस्ट आवाज    
     असार ९ गते २०७९ मा प्रकाशित





भजनी । यतिबेला खेतमा व्यस्त हुने कैलालीका किसान रासायनिक मलको अभाव, पर्याप्त वर्षा तथा सिँचाइ व्यवस्था नहुँदा र खेत जोत्नका लागि इन्धनको सहज आपूर्ति हुन नसक्दा फुर्सदिला देखिएका हुन् । पछिल्लो समयमा परम्परागत रुपमा गरिँदै आएको कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यले अधिकांश किसानसँग खेत जोत्नको लागि पावरटिलर छ ।

उक्त उपकरणबाट काम गर्न सहज हुनाका साथै छिटोछरितो पनि हुने भएकाले किसानले अनुदानमा होस् वा आफै खर्च गरेर भए पनि पावरटिलर राखेका छन् तर पछिल्लो समयमा डिजेलमा भएको अस्वभाविक मूल्य वृद्धिका कारण पनि अपेक्षाअनुसार खेती गर्न नसक्ने अवस्थामा पुगेको किसानको गुनासो छ ।कैलालीको टीकापुर नगरपालिका–३ का रतिराम विश्वकर्माले गतवर्ष यतिबेला तीन बिघा खेतमा धान रोपिसक्नु भएको थियो ।

यसपटक भने भरखरै सिँचाइको पानी खेतसम्म पुगेपनि रासायनिक मल र डिजेलमा भएको अस्वभाविक मूल्य वृद्धिका कारण धान रोप्ने जागर मरेको उनी बताउछन । कैलालीको भजनी नगरपालिका–५ का सन्तराम चौधरीले गोरु जोतेरै तीन बिघा खेतमा धान रोप्न आँट गरेका छन् । घरमा खेत जोत्नको लागि पावरटिलर पनि छ ।

पावरटिलर घरमा थन्क्याएर एक हल गोरुले खेत जोत्न लागेका उनी डिजेलको मूल्य बढ्दै जाँदा पावरटिलर छोडेर पुरानै हल गोरु लिएर खेत जोत्न थालेको बताउछन । किसानलाई खेती गर्दा चाहिने आवश्यक वस्तु सहुलियत दरमा उपलब्ध गराउनुपर्नेमा उनी जोड दिन्छन ।

किसानलाई सरकारले डिजेललगायत अन्यवस्तु सहुलियतमा उपलब्ध गराए मात्र किसानलाई कृषिमा आकर्षण गराउन सकिने भजनी नगरपालिका–१ का सञ्जय चौधरी बताउछन। ठूलो खर्च गरेर लगाइएको खेती प्राकृतिक विपत्तिबाट क्षति भएको अवस्थामा सरकारले त्यसको ग्यारेन्टी लिनुपर्ने, किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण बजारको महङ्गीलाई हेरेर गर्नुपर्नेमा उनीजोड दिन्छन ।

टीकापुरका किसान शिव थापाले रासायनिक मलको विकल्पमा गड््यौला मल प्रयोग गरी धान रोपेका छन् । परम्परागत प्राविधि प्रयोग गरेर खेती गरे पनि सामान्य कृषि गरेर जीविका चलाउने अन्य किसानले अहिलेको महङ्गीको सामना गरेर खेती गर्ने अवस्था नरहेको उनी बताउछन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।