९१ वर्षीय मिडिया टाइकुन मर्डोकले पारपाचुके गर्दै


     एभरेस्ट आवाज    
     असार १० गते २०७९ मा प्रकाशित




मिडिया टाइकुन रुपर्ट मर्डोक र अभिनेत्री जेर्री हलले सम्बन्ध विच्छेद गर्न लागेको अमेरिकी संचार माध्यमले जनाएका छन्।

९१ वर्षीय मर्डोकको जीवनमा पत्नीसँगको यो चौथो पारपाचुके हो। ६५ वर्षिया हल यसअघि लामो समयसम्म चर्चित सांगीतिक समूह रोलिङ स्टोन्सका फ्रन्टम्यान मिक ज्यागरकी पार्टनर थिइन्।

सन् २०१६ मा बेलायतको राजधानी लन्डनको मध्यभागमा रहेको एउटा चर्चमा विवाह बन्धनमा बाँधिएका मर्डोक र हलका प्रतिनिधिहरूले पारपाचुकेका सम्बन्धमा कुनै टिप्पणी गरिसकेका छैनन्।

दि न्युयोर्क टाइम्सका अनुसार यस परिवार निकटका व्यक्तिहरू उनीहरूको सम्बन्ध विच्छेदको कुराबाट आश्चर्यचकित बनेका छन्। टाइम्स र दि वासिङटन पोस्टले अज्ञात सुत्रहरूलाई उद्धृत गर्दै यस दम्पतीको सम्बन्ध विच्छेदको खबर सार्वजनिक गरेका हो।

मर्डोकको न्युज कर्पोरेसन साम्राज्यले अमेरिकाका फोक्स न्युज र दि वाल स्ट्रिट जर्नल तथा बेलायतका दि सन र दिन टाइम्स लगायत अन्य थुप्रै महत्वपूर्ण आउटलेटमाथि नियन्त्रण राख्दछ। यसअघि, मर्डोकले आफ्नी नयाँ पत्नीलाई धेरै समय दिँदै आएको बताउने गरेका थिए।

हलसँग विवाहको बेला अर्बपति मर्डोकले ट्वीटरमार्फत आफू संसारकै सबैभन्दा भाग्यमानी सुखी पुरुष भएको घोषणा गरेका थिए। सन् २०१८ मा उनको जेठो छोरा ल्याच्लनलाई फोक्स कर्पोरेसनको प्रमुख कार्यकारिणी र उनको उत्तराधिकारी घोषणा गरिएका थिए।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।