मतदानका लागि नाम दर्ता गराउने बढ्दै


     एभरेस्ट आवाज    
     असार १० गते २०७९ मा प्रकाशित





महोेत्तरी । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न थालेपछि महोत्तरीका सम्बद्ध कार्यालयमा भीड बढेको छ । जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्याललय र तीनवटा इलाका प्रशासन कार्यालयमा अहिले मतदाता नामावलीमा नाम दर्ता गराउने सेवाग्राहीको चाप निकै बढेको हो । कार्यालयको धेरैजसो जनशक्ति अहिले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा लगाउनु परेको सम्बद्ध कार्यालयले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय र आफ्ना मातहतका इलाका प्रशासन कार्यालयहरुमा अहिले सबैभन्दा बढी मतदाता नामावलीमा नाम दर्ता गराउन फोटो खिच्न आउने सेवाग्राही रहने गरेका उनको भनाइ छ ।जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र तीन ठाउँ अवस्थित इलाका प्रशासन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्दैछन् ।

जिल्लाको सुदूर उत्तरवर्ती बर्दिवासस्थित इलाका प्रशासन कार्यालयले मतदाता नामावलीमा नाम दर्ता गर्न आउने सेवाग्राहीको काम सक्न भ्याइनभ्याइ पर्ने गरेको जनाएको छ । निर्वाचन आयोगले यही असार १ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने कार्य थालेपछि यो कामसम्बद्ध कार्यालयमा सेवाग्राहीको चाप बढेको हो । भर्खरै स्थानीयतहकोे निर्वाचन सम्पन्न भएको हुँदा त्यसमा मतदान गर्न नपाएकाहरु नाम दर्ता गराउन आउने गरेका छन् ।

अब लगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने हुँदा राजनीतिक दल र सामाजिक अगुवाले नाम दर्ता गराउन सर्वसाधारणलाई उत्प्रेरित गरेकाले अहिले यस कामको चाप बढेको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी सुबोधकुमार महतो बताउनुहुन्छ । जिल्लाका पाँच ठाउँमा जारी अद्यावधिक कार्यमा फोटो खिचाउनेको सङ्ख्या असार पाँच दिन यता दिनहुँ १०० नाघेका छन् ।

आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आन्तरिक तयारीस्वरुप मतदाता नामावली अद्यावधिक कार्य थालेको हो । सरकारले निर्वाचन मिति घोषणा नगरेसम्म यो कार्य जारी रहने आयोगले जनाएको छ ।

त्यो मिति घोषणा नगरिञ्जेल नामावली अद्यावधिक जारी रहने उनको भनाइ छ ।अहिले मुलुकका सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय तथा ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यस क्रममा नाम, थर, वतन फरक उल्लेख भएकाले सो सच्याउन र नाम छुटेकाले आवश्यक कागजात देखाएर नाम समावेश गर्न पाउने व्यवस्था रहेको छ । जहाँको स्थायी बसोबासी भए पनि मुलुकभरिका जुनसुकै ठाउँका आयोगसम्बद्ध कार्यालयमा नाम दर्ता गराउन पाइने व्यवस्था छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।