एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरको नगरसभा अवरुद्ध


     एभरेस्ट आवाज    
     असार १० गते २०७९ मा प्रकाशित




पोखरा — नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ । बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि बजेट प्रस्तुत हुने कार्यक्रम प्रभावित भएको हो । महानगरले शुक्रबार करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

शुक्रबार अपराह्न साढे ४ बजे नगरसभा हुनेबित्तिकै एमाले दलको नेता राधिका शाहीले रातो किताब च्यात्दै बजेटमा आफूहरुको सहभागिता नहुने बताइन् । एमालेले बजेट पारित हुनुअगावै रातो किताब प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको छ ।

मेयर धनराज आचार्यले किताब मस्यौदामात्र भएको र अन्तिम रातो किताब नभएको बताएका थिए । महानगरको नम्बर नघटोस् भनेर ुलिजाु ९स्थानीय तह स्वमूल्यांकन प्रणाली०मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको हो,ु मेयर आचार्यले भनेका थिए ।

यस विषयमा उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्नेमा आफूसमेत अनभिज्ञ रहेको बताइन् । उनले रातो किताब किन भनियो भन्दै प्रश्नसमेत गरेकी थिइन् ।

एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुको अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । मेयरको जवाफबाट चित्त नबुझेपछि एमाले जनप्रतिनिधिहरु पोखरा सभागृहबाहिर नाराबाजीमा उत्रिएका छन् । उनीहरुको नाराबाजीपछि मेयर आचार्यले १० मिनेटका लागि नगरसभा स्थगित भएको घोषणा गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।