पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ


     एभरेस्ट आवाज    
     असार १२ गते २०७९ मा प्रकाशित




तस्बिर : उमेश पुन


काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटकलाई बोक्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा बौद्ध, सोह्रखुट्टेलगायत सडकबाट पर्यटकीय बस देशका विभिन्न भागमा आवतजावत गर्दै आएका छन् ।

कोरोना महामारीबाट नराम्रोसँग थला परेको नेपालको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेपनि सङ्घीय राजधानी काठमाडौँमै पर्यटकी बसका लागि पार्किङस्थल नहुँदा व्यवसायीहरु समस्यामा परेका हुन् । टुरिष्ट बस एशोसियशन अफ नेपालका पूर्वअध्यक्ष एवं बाबा एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक प्रह्लाद लोहनी विदेशी मुद्रा आर्जन गर्ने प्रमुख व्यवसाय मानिएको पर्यटनका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको बताउछन ।

पर्यटकीय बसका लागि व्यवस्थित बसपार्क नहुँदा अस्थायी रूपमा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जाने गरेका छन् । काठमाडौँदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायत प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजान पर्यटकीय बस सञ्चालन हुँदै आएका छन् ।

तीन दशकभन्दा बढी समय कान्तिपथबाट पर्यटकीय सवारीसाधन ओहोरदोहोर गरेपनि काठमाडौँ महानगरपालिकाले ट्राफिक प्रहरीसँगको समन्वयमा कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने गरेको भन्दै विसं २०७५ असार १६ गते उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा अस्थायी रुपमा स्थानान्तरण गराएको थियो ।सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् ।

नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् नाट्टाका अध्यक्ष रमेश थापा विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरेपनि नेपालमा छुट्टै बसपार्क नहुँदा व्यवसायी समस्या परेको बताउछन ।नाट्टाले पर्यटकीय बस निर्माणका लागि यातायात व्यवस्था विभाग, प्रदेशको पर्यटन तथा वातावरण मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायतलाई ध्यानाकर्षण गराउँदै आएको अध्यक्ष थापा बताउछन ।

पछिल्लो समय सरकारले पर्यटकीय बसमा समेत इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । नाट्टाका अध्यक्ष थापा भने पर्यटक बोक्ने सवारीसाधन सजिलैसँग चिन्नेगरी हरियो नम्बरप्लेट नै कायम हुनुपर्नेमा जोड दिइन्छन । टिवानका पूर्वउपाध्यक्ष एवं नाट्टाका सदस्य ढकनाथ काफ्ले पर्यटकीय बसपार्क निर्माणका लागि टिवानले पटक–पटक सम्बन्धित निकायसँग छलफल चलाउँदै आएको छ भन्छन ।काठमाडौँ महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्ले नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय बसलाई छुट्टै बसपार्क आवश्यक रहेको बताउछन ।

हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने तिनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।