किसानको खर्च बढाउँदै शीतभण्डार


     एभरेस्ट आवाज    
     असार १३ गते २०७९ मा प्रकाशित





बलेवा । किसानको उत्पादन सुरक्षा र बजारीकरणका लागि आगामी आर्थिक वर्षमा पनि बागलुङका केही स्थानीय तहले शीतभण्डार निर्माणका लागि बजेटको व्यवस्था गरेका छन् । प्राय फलफूल उत्पादन हुने क्षेत्र र नगदेबाली उत्पादन हुने क्षेत्रमा शीतभण्डार निर्माणमा स्थानीय सरकारको चासो छ । सङ्घीय सरकार र प्रदेश सरकारले पनि किसानको सहायताका लागि शीतभण्डार निर्माण गर्न बेलाबेलामा त्यस्ता योजनामा रकम विनियोजन गरेर कार्यान्वयनमा ल्याइरहेका छन् ।

शीतभण्डार निर्माण भएका क्षेत्रका किसानले भने शीतभण्डार फाइदा लिनेभन्दा खर्च हुने बाटो बनेको गुनासो गर्न थालेका छन् । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा तीन वर्षको अवधिमा दुई वटा शीतभण्डार तयार भए । शीतभण्डार निर्माण हुने खबर पाएका किसानले पहिले ठूलो भवन माग गरे ।

गाउँपालिका र प्रदेश सरकारको सहयोगमा भवन निर्माण गरी प्रदेश सरकारसँगको साझेदारीमा शीतभण्डार निर्माण गरियो तर रु ८० लाख खर्चेर बनाइएको भवनमा रु २५ लाख पर्ने शीतभण्डारको चेब्बर त तयार गरिए पनि त्यही चेब्बर किसानको कमाई मास्ने साधन बनेको छ ।काठेखोला गाउँपालिकाको आलु पकेट क्षेत्रका रुपमा रहेको धम्जामा आलु फल्ने याममा बाहेक शीतभण्डारमा राख्ने केही हुँदैन ।

दुई÷तीन महिना मात्रै प्रयोगमा आउने र अन्य समयमा खाली रहने भएकाले किसानले शीतभण्डारबाट फाइदा लिन नसकेका हुन् । शीतभण्डारका लागि आवश्यक ऊर्जा पु¥याउनकै लागि किसानलाई कठिन भइरहेको वडाध्यक्ष कुलबहादुर विकले बताए । वडा कार्यालयले छिमेकी वडासँग मिलेर त्यहाँ भएका उत्पादन भण्डारण गर्ने र बजार मूल्य पाउने समयमा बिक्री गर्ने योजना बनाएको छ ।

यहाँका किसानले आलु भण्डारणकै लागि शीतभण्डार माग गरेका थिए । वार्षिक उत्पादन हुने आलु फसल लिएको दुईदेखि तीन महिनामा बिक्री भइसक्ने भएकाले भण्डार खाली हुने गरेको छ । बागलुङ नगरपालिका–८स्थित सिगानामा बनेको शीतभण्डार पनि सुन्तलाको याममा मात्रै चल्छ । विद्युतमार्फत् सञ्चालन हुने शीतभण्डारका लागि अर्को खर्चको स्रोत हो इन्धन । विद्युत् नभएको समयमा जेनेरेटर चलाएर विद्युत् प्रवाह गर्नुपर्दा किसानलाई थप मर्का परेको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।