म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ मा मुलगोठाली–चालीसे सिँचाई आयोजना निर्माण सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीले विसं २०७६ देखि शुरुआत गरेको सो आयोजना यसवर्ष निर्माण सकिएको हो ।
कार्यालयका ई अञ्जन खत्रीले आयोजनाबाट दुई हजार दुई सय रोपनी क्षेत्रफल जमिनमा सिँचाई सुविधा पुगेको जानकारी दिए । भिरमुनी, डाडाखेत, कुमाल्नी, फुर्केसल्ला, बगुवाखोलाका कृषकहरु लाभान्वित भएका स्थानीय अमर बानियाले बताए ।
चालु आर्थिक वर्षमा रु। १९ लाखमा ठेक्का सम्झौतामा निर्माण भएको ५५० मिटर सहित एक हजार २०० मिटर नहर निर्माण भएको कार्यालयले जनाएको छ । मुलमा दुई वटा पानी संकलन गर्ने पोखरी निर्माण भएको छ ।
कुल रु। एक करोड ३३ लाख लागत अनुमान गरिएको योजनाका लागि विसं२०७६ मा ४४ लाख र २०७७ मा रु। १८ लाख खर्च भएको थियो । स्थानीय कृषक लेखबहादुर कटुवालले नहर निर्माण भएपछि समयमै खेतीबाली लगाउन र खडेरीमा सिंँचाई गर्न पाएको बताए। सो क्षेत्रमा धान, मकै र गहुँ खेती हुन्छ । हालसम्म वर्षमा दुई वाली खेती हुने खेतमा सिचाई सुविधा भएपछि तीनबाली लगाउन सकिने कृषकहरुले बताएका छन् ।
पानीका कारणले हुने बिवाद न्युनीकरणमा सहयोग पुगेको छ । धान रोप्न, मकै र गहुँमा पानी लगाउन पालो पर्खनुपर्ने समस्या हटेको कृषक विशाल कटुवालले बताए । नहर निर्माणका क्रममा स्थानीय करिब २० जनाले ७५ दिनका दरले रोजगारी समेत पाएका उनको भनाई छ।
मुहानको पानी पोखरीमा संकलन गरेर आवश्यक परेको समयमा नहरबाट खेतमा लैजाने व्यवस्था मिलाइएको छ । दुई पोखरीमा एक लाख लिटर पानी संकलन गर्न सकिन्छ । यसअघि खडेरी परेको समयमा पानी लगाउन नपाएर मकै, गहुँ, धानको अपेक्षाकृत उत्पादन लिन सकेका थिएनन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







