फाइल तस्विर
सुर्खेत । सुर्खेत उपत्यका मनसुनजन्य विपद्को उच्च जोखिम रहेको पाइएको छ । गुरुयोजनाविपरीत जोखिमयुक्त स्थानमा धमाधम भौतिक संरचना निर्माण गरिनु र खोला–नालाको बढ्दो अतिक्रमणका कारण विपद्को जोखिम बढेको हो ।अव्यवस्थित ढल व्यवस्थापन तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा सामान्य वर्षामा समेत दक्षिणी भू–भागमा डुबानमा पर्ने गरेको छ । इत्राम, नेवारे, खोर्केखोला उपत्यकाका मुख्य खोला हुन् ।
यहाँ खोलानाला च्यापेर थुप्रै घर निर्माण गर्ने गरिएको छ । जसले गर्दा खोला क्षेत्र साँघुरिन गई डुबानको जोखिम बढ्दै गएको छ ।वीरेन्द्रनगर नगरपालिका वडा नं ३ मा मात्रै ५०० घरधुरी डुबान, बाढी र कटानको उच्च जोखिममा छन् । वडाध्यक्ष विनोदसिंह विष्टले खोला किनारमा बनेका अधिकांश घर विपद्को जोखिम रहेको बताए ।
उपत्यकाबाट पानी बाहिरिने द्वार निकास खोला निकै साँघुुरो छ । उक्त ठाउँमा व्यवस्थित तटबन्धन नहुँदा आसपासका बासिन्दा बर्र्सेनि डुबान र कटानको जोखिममा छन् । दुई वर्षअघिदेखि थालिएको निकास खोला तटबन्धन निर्माणको काम अझै पूरा भएको छैन । हालसम्म ५०० मिटरमा मात्रै तटबन्धनको काम भएको बताइएको छ । वीरेन्द्रनगरका नगर उपप्रमुख नीलकण्ठ खनालले खोला क्षेत्रको संरक्षण गर्नका लागि निगरानी बढाइएको बताए ।
साथै उनले विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन कार्ययोजनाअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताउनुभयो ।विसं २०७१ साउन २८ र २९ गते भीषण वर्षा हुँदा बाढी, पहिरो, डुबानका कारण सुर्खेतमा मात्रै १२५ जनाले ज्यान गुमाएका थिए । सुर्खेत चुरे र महाभारत शृङ्खलाको बीचमा अवस्थित कमजोर धरातलबाट बनेको जिल्ला भएकाले यो मनसुनजन्य विपद्को उच्च जोखिममा पर्दछ । यहाँको करिब ४३ प्रतिशत भू–भाग महाभारत शृङ्खलाले ओगटेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







