पोखरा बसपार्क व्यवस्थित बनाउन पहल


     एभरेस्ट आवाज    
     असार १९ गते २०७९ मा प्रकाशित




जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षपछि यहाँको बसपार्क व्यवस्थित बनाउने पहल भएको छ।

यतिबेला बसपार्कको नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम अगाडि बढेको छ।

अहिले बसपार्कको आधा भागमा ग्राभेल हालेर सम्याउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गर्न थालिएको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिएका छन्।

उनले भने, ‘लामो समयदेखि पोखराको बसपार्कमा देखिएको समस्या कम गर्न थालिएको छ। तत्कालका लागि हिलो र धुलोमुक्त बनाउन लागेका छौँ।’

नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम भएसँगै बसपार्क अब हिलो र धुलोमुक्त हुने उनको भनाई छ।

उनका अनुसार पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्क सुधार कार्य अगाडि बढेको हो। आधा भाग ग्राभेल हालेर पुर्ने काम भएको र बाँकी आधा भागमा पनि निरन्तर काम भइरहेको छ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का र पोखरा महानगरका प्रमुख धनराज आचार्यले गत जेठमा बसपार्कको नाला निर्माणको शिलान्यास गरेका थिए। झन्डै, ४७ वर्ष अगाडि अर्थात् १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो। पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।