नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्वपूर्ण स् सञ्चारमन्त्री कार्की


     एभरेस्ट आवाज    
     असार १९ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताएका छन ।विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री कार्कीले सबैले आचारसंहिता अरूलाई लाग्ने भए पनि आफूलाई लाग्दैन भन्ने सोच्ने गरेको बताए । आचारसहिंता अरुलाई लागेजसरी नै मलाई पनि लाग्छ सोच्नुपर्नेमा उनले जोड दिए । देशमा स्वतन्त्रता र सुशासन सँगसँगै अघि बढाउनुपर्नेमा मन्त्री कार्कीको भनाइ छ ।

आचारसहिंतामा जुनजुन ठाउँमा अप्ठेरो, अस्प्रष्टता र अघि बढ्न व्यवधान छन् तिनलाई हटाउन मन्त्रालय साथमा रहेको मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे । आजदेखि लागू भएको आचारसंहिताले आगामी सातादेखि नतिजा दिन थाल्ने उहाँले उल्लेख गरे । आचारसहिंता जति धेरै विचार, विमर्श, छलफलबाट ल्यायो कार्यान्वयन गर्न त्यति नै सजिलो हुने मन्त्री कार्कीको भनाइ छ ।
मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आचारसहिंताले विज्ञापनको क्षेत्र थप प्रतिस्पर्धी र पारदर्शी हुने अपेक्षा व्यक्त गरे ।

विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापनको क्षेत्रमा सरोकार राख्ने विज्ञापन व्यवसायी, मिडिया व्यवसायी, पत्रकारका सङ्घ संस्थालगायत सरोकार राख्नेसँग पटक–पटक छलफल गरिएको उल्लेख गरे । बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले आचारसहिंताले केही समयमा नै नतिजा दिने विश्वास व्यक्त गरे ।

मिडिया सोसाइटी नेपालका मदन लम्सालले नेपालमा कुन मिडिया हो र कुन होइन भनी नियमन आवश्यक रहेको औँल्याए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आचारसहिंताका कारण काउन्सिललाई अनुगमन गर्न सजिलो भएको उल्लेख गरे ।

विज्ञापन सङ्घ नेपालका अध्यक्ष सोम धितालले विज्ञापनमा मात्रै नभएर सबैतिर रहेको बेथिति हटाउनुपर्नेमा जोड दिए ।पत्रकार बबिता बस्नेतले आचारसहिंता लागू भएपछि विज्ञापनमा महिलाको शरीरभन्दा मस्तिक देखिने अपेक्षा ब्यक्त गरे । नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू भएको हो । यसअघि यससम्बन्धी छुट्टै आचारसहिंता थिएन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।