कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विपद्को पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गर्दै प्रशासनले मनसुन सक्रिय भएसँगै विपद्जन्य जोखिममा सतर्कता अपनाउन र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको बैठकमार्फत मातहतका सुरक्षा इकाईलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताए ।
विपद् प्रतिकार्य योजनामा प्रदेशस्तरमा आपतकालीन उद्धार तथा सूचना सङ्कलन केन्द्र, जिल्ला र स्थानीय तहमा विपद् व्यवस्थापन समिति क्रियाशील हुन्छ । वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा प्रतिकार्य योजना कार्यान्वयन गर्न प्रशासनले निर्देशन दिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सुर्खेतका सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकबँेशी नगरपालिका, भेरीगङ्गा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका बाढीको जोखिममा छन् भने चिङगाड गाउँपालिका पहिरोको जोखिममा छ । वीरेन्द्रनगरमा स्थानीयवासीले खोलानाला अतिक्रमण गरी घरटहरा निर्माण गरेकाले डुबानको खतरा छ ।
गुरुयोजना विपरीत संरचना निर्माण हुँदा यहाँको तल्लो तटीय क्षेत्र सामान्य वर्षातमा पनि डुबानमापर्ने गरेको छ । जिल्ला प्रशासनले जल तथा मौसम विज्ञान विभागबाट दैनिक जारी हुने मौसमसम्बन्धी बुलेटिन तत्काल सम्भावित जोखिमयुक्त क्षेत्रमा पठाउँदै आएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल रक्तकाली गण सुर्खेतले विपद्जन्य घटनाको उद्धारका लागि विशेष तालिम प्राप्त ३५ सशस्त्र प्रहरीका साथै ६ गोताखोर टोली तयारी अवस्थामा राखिएको जनाएको छ ।सुर्खेत चुरे र महाभारत शृङ्खलाको बीचमा अवस्थित कमजोर धरातलबाट बनेको जिल्ला हो । यस कारण पनि वर्सेनि मनसुनजन्य विपद्को उच्च जोखिममा रहने गर्दछ । यहाँको करिब ४३ प्रतिशत भू–भाग महाभारत शृङ्खलामा पर्दछ ।
पूर्वको राकमदेखि पश्चिमको घाटगाउँमा भेरी तटीय क्षेत्रका १९ बस्ती बाढीको उच्च जोखिममा पर्छन् । विसं २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको भीषण बाढीले ती बस्तीका एक हजार ४६५ घर पूर्ण रुपमा बगाउनुका साथै ८६४ घरमा आंशिक क्षति पु¥याएको थियो । उक्त बाढीले १२५ जनाले ज्यान गुमाएका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







