मानवसेवा आश्रमको भवन निर्माणमा पालिकाको हातेमालो


     एभरेस्ट आवाज    
     असार २० गते २०७९ मा प्रकाशित





बागलुङ । धवलागिरि क्षेत्रलाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ बनाउने लक्ष्यसहित यहाँ निर्माणाधीन मानवसेवा आश्रमको भवनका लागि स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । आश्रम निर्माणमा हातेमालो गर्नेमा बागलुङसहित छिमेकी जिल्ला म्याग्दी र पर्वतका पालिकासमेत छन् ।

बागलुङ नगरपालिकाद्वारा जग्गा व्यवस्थापन र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत रु ५० लाख बजेटको सुनिश्चितता भएपछि गत आवदेखि आश्रमको भवन निर्माण थालिएको थियो । बागलुङ नगरपालिका–४ निरयघाटमा बन्न लागेको आश्रमका लागि चालु आवमा सोही मन्त्रालयबाट रु ५० लाख बजेट छुट्टिएको थियो ।स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहबाट पनि आश्रम निर्माणमा सहयोग जुटिरहेको निर्माण समितिका अध्यक्ष एवं आश्रमका अभिभावक शिव खड्काले बताए ।

उनका अनुसार केही स्थानीय तहले आउँदो आवको बजेट तथा कार्यक्रममै समेटेर आश्रम निर्माणका लागि रकम विनियोजन गरेका छन् । बागलुङको ताराखोला गाउँपालिकाले रु १२ लाख, बागलुङ नगरपालिकाले रु आठ लाख, गलकोट नगरपालिकाले रु पाँच लाख र निसीखोला गाउँपालिकाले रु एक लाख छुट्टाएको छ । बरेङ गाउँपालिकाले रु छ लाख उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।आउँदो आवका लागि म्याग्दीको रघुगङ्गा गाउँपालिकाले रु पाँच लाख र बेनी नगरपालिकाले रु चार लाख बजेट आश्रम निर्माणलाई विनियोजन गरेको छ ।

चालु आवमा बागलुङ नगरपालिकाले रु १२ लाख ५० हजार, जैमिनी नगरपालिकाले रु १२ लाख, निसीखोला गाउँपालिकाले रु एक लाख, म्याग्दीको रघुगङ्गा गाउँपालिकाले रु दुई लाख र पर्वतको जलजला गाउँपालिकाले रु दुई लाख बजेट उपलब्ध गराएको थियो ।आश्रमको सबै पूर्वाधार तयार गर्दा रु १२ करोड ७५ लाख लाग्ने अनुमान गरिएको छ । आश्रमका लागि बागलुङ नगरपालिकाले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको थियो । सय जना अट्ने गरी भवनभित्रको संरचना बन्ने जनाइएको छ ।

योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष हुनेछ । तीनै तहका सरकार, निजी क्षेत्र र दाताबाट स्रोत जुटाएर भवन निर्माणलाई पूर्णता दिइने आश्रमले जनाएको छ । अहिले बागलुङ बजारस्थित एक घरबाट अस्थायी रुपमा आश्रम सञ्चालित छ । सुविधायुक्त भवन बनेपछि आश्रमको सेवा पनि व्यवस्थित बन्नेछ । आश्रमले सडकमा अलपत्र दिनदुःखीको उद्धार, पालनपोषण र परिवारसँग पुनःमिलन गराउँदै आएको छ ।

अहिले आश्रममा ५१ जना बेसहारा नागरिकले आश्रय लिइरहेको संयोजक तामाङले जानकारी दिए । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियन्ता तथा स्वयंसेवी युवाहरुको पहलमा विसं २०७२ मा आश्रम खोलिएको थियो । आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ । अहिलेसम्म सयौँ सडक मानवलाई उद्धार गरिसकिएको छ । तीमध्ये कैयनको परिवारसँग पुनःमिलन भएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।