काठमाडौँ । काठमाडौँ–३२ का सुमन अधिकारी सडकमा रहेको हिलो आफ्नो पसल भित्रै पस्दा हैरान छन । केही दिन पहिले मात्रै खानेपानीका लागि भन्दै सडक खनिएकामा अझै राम्रोसँग पुरिइसकेको छैन । वर्षाको समय सडक हिलाम्मे हुँदा सडकमा सवारी साधनले हिलो छ्याप्ने गरेको उनले बताए । वर्षाका समयमा सडक खन्न नहुने भन्दै कतिपय स्थानीयवासीले विरोध गरे पनि नरेफाँट क्षेत्रमा अहिले धमाधम सडक खनिरहेको देख्न सकिन्छ ।
एकातिर ढल निकास छैन भने अर्कातिर वर्षाको समयमा सडक खनेकाले भित्री सडक अस्तव्यस्त बनेको छ । सङ्घीय सरकारले केही वर्षयता मुख्य सडक सबैतिर कालोपत्र थप्ने काम गरिरहँदा भित्री सडकमा भने खाल्डा भएको हो । कामपा वडा नं १० शङ्खमूल क्षेत्रमा सहजरुपमा आवागमन गर्ने अवस्था नरहेको स्थानीय नीता शर्माले गुनासो गरे । शर्माका अनुसार धेरै ठाउँमा खाल्डा भएकाले बालबालिका विद्यालय जाँदा वा फर्कंदा पानी छ्याप्ने गर्छ ।
आफूले काम परेर निस्कँदा पनि हैरान भएर फर्कने गरेको उनले बताए ।त्यसैगरी कामपाको वडा नं १८ स्थित दमाईंटोलमा धेरै ठाउँमा खाल्डैखाल्डा भएको छ । यस वर्ष असार लागेसँगै नियमित पानी परिरहेको छ । वर्षा पहिले नै सडकमा खाल्डा परेको भए पनि पुरिएको थिएन । अहिले वर्षाका कारण सडकमा धेरै ठाउँमा र पहिलेभन्दा ठूलाठूला खाल्डो परेको स्थानीय विगुल कपालीले भने ।
उनका अनुसार सडकमा भएको खाल्डा र त्यसका कारण स्थानीयलाई परेको प्रभावका कारण वडा कार्यलयमा जानकारी गराइसकेको छ । वडाका प्रतिनिधिले महानगरमा जानकारी गराएमा खाल्डा पुरिँने स्थानीयवासीको अपेक्षा छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले नयाँ पाइप खन्ने र नेपाल विद्युत् प्राधिकरणले तार अण्डर ग्राउण्ड गर्दा काठमाडौँ महानगरका भित्रि सडक खाल्डैखाल्डा भएको छ ।
वर्षाको समयमा सडक खनिँदा हिलोका कारण पैदलयात्रु र सवारी चालक दुवैलाई यात्रा गर्न गाह्रो भएको छ । राम्रो बाटो अहिले बिग्रेको र पहिले बिगारेको सडक पनि अझैसम्म नबनाउँदा वर्षाको समयमा नागरिकले दुःख पाइरहेका छन् । सडक खन्नुमा आफ्नो कमजोरी नभए पनि महानगरवासीको अनावश्यक गुनासो सुन्नुपरेको महानगरले जनाएको छ ।
महानगरपालिका प्रमुखमा बालेन्द्र साह निर्वाचित भएपछि प्राधिकरण र लिमिटेड दुवैसँग यस विषयमा छलफल भएको महानगरका भौतिक पूर्वाधार शाखाका प्रमुख राम थापाले बताए । नगर प्रमुखको कार्यकक्षमा बैठक भएपछि पनि दुई पटकसम्म पत्राचार गरिएको र पटकपटक मौखिम भनिएकोे उनले बताए । बैठकमा र कुराकानीमा काम चाँडो गर्ने भने पनि ढिलाइ भइरहेको उनले बताए ।खनिएको सडक नबनाउँदा अरु सडक बिग्रने प्रमुख थापाले बताए । सडक खनेको समयमा मर्मत नहुँदा महानगरवासीले दुःख पाउने गरेका छन् ।
प्राधिकरणलाई विद्युत् नआउँदा वा लिमिटेडलाई पानी नआउँदा गुनासो गर्ने भए पनि सडकमा खाल्डा हुँदा महानगरलाई नै गुनासो गर्ने उनले बताए । सडक जसले बिगा¥यो उसले बनाउनुपर्ने समझदारीपत्रमा उल्लेख भए पनि खन्ने निकायले मर्मत गर्न ढिलाइ गर्दा महानगरवासीले हैरानी भोग्न बाध्य हुने गरेका हुन् । समयमा सडक नबनाउँदा वर्षाको पानीले थप बिग्रिरहेको प्रमुख थापाले बताए । बिगार्ने निकायले जति क्षेत्रफल बिगारेको हो त्यसमा मात्रै मर्मत गर्ने भए पनि समयमा मर्मत नहुँदा त्यसले थप ठाउँ बिगार्छ ।
सडक खन्नका लागि बालुवाटार, लाजिम्पाट, कलङ्की, डल्लुलगायतका स्थानमा मात्रै अनुमति दिइएको भए पनि अहिले धेरै स्थानमा खनिरहेको पाइएको छ । पुस र माघमा नै ती ठाउँमा वैशाख, जेठभित्रै काम सकाउने भने पनि अहिले पनि खनिरहेको देख्न सकिन्छ ।गोङ्गबु, सामाखुसी, नयाँ बजारलगायतका स्थानमा सहमति नदिए पनि धमाधम सडक खन्ने काम भइरहेको देख्न सकिन्छ । महानगरले स्वीकृति नै नदिएका धेरै ठाउँमा खनेको प्रमुख थापाले बताए । स्वीकृति दिएको ठाउँमा त सडक समयमा बनाएको छैन भने स्वीकृति नै नदिइएको ठाउँमा महानगरले केही गर्न सक्दैन ।
महानगरपालिकाको वर्षामा दुई महिना खन्न नदिने नीति रहेको छ । यो समयमा सहमति र स्वीकृति नदिने गरिएको भए पनि पहिले दिइएको सहमतिका आधारमा खनिरहेको उनले बताए । सामान्यतया सबैतिरका सडकमा वर्षाका समयमा खाल्डाखुल्डी बढी देखिन्छ । पानी जम्दा गाडीको चक्काले उछिटेर झन बढी खाल्डा हुनेहुँदा महानगरले त्यसका लागि एक महिनादेखि कन्सट्रक्सन एम्बुलेन्स सञ्चालन गरिरहेको छ ।
यहीबीचमा खाल्डाखुल्डी पुरिएको र कतिपय ठाउँमा काम भइरहेको उनले बताए। ‘कन्स्ट्रक्सन एम्बुलेन्स’ मा दुई एम्बुलेन्स र १० जना जनशक्ति मात्रै भए पनि एकैपटक धेरैतिरबाट माग भइरहेको प्रमुख थापाले बताए । यसरी खाल्डा पुर्ने काम एउटै ठाउँमा नभएर ठाउँठाउँमा हुने भएकाले बढी समय लागेको उनले बताए । स–सानो कामलाई मिलाएर गर्नुपर्ने र सडकमा सवारीसाधन पनि व्यवस्थापन गर्नुपर्ने हुँदा बढी समय लाग्ने उनले बताए ।
बिहान, बेलुका र दिउँसो ३२ वटै वडामा काम भइरहेको छ । समयसमयमा सडक खनेको लामो समयसम्म नपुर्ने गर्दा महानगरवासी कामपालाई नै गुनासो गर्छन् । कुनैकुनै ठाउँमा एउटै ठेक्कामा खन्ने, पुर्नेदेखि कालोपत्रसम्मको हुन्छ । त्यस्तोमा महानगरले कानुनीरुपमा पनि काम गर्न मिल्दैन । तर खन्ने र पुर्ने मात्रै गरी सम्झौता भएको र लामो समयसम्म काम नभएको पाइएमा आफैँले पनि पुर्ने गरिएको उनले बताए ।महानगरपालिकाले गत महिनाबाट नागरिकको गुनासो सुन्न सुरु गरेको थियो । त्यसमा सडक खाल्डाखुल्डी भएको गुनासो १५ देखि २० प्रतिशत छ ।
भौतिक पूर्वाधारतर्फ सबैभन्दा बढी नागरिकको गुनासो सडक खाल्डाखुल्डी भएर आवतजावत कठिन भएको भन्ने छ । फोहर, नक्सा पास र वडाबाट दिने सेवाको गुनासो पछि सडकका गुनासो रहेको पाइन्छ ।कामपाले बर्सेनि सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधारका क्षेत्रमा विनियोजन गर्दै आएको छ । आगामी आवका लागि पनि महानगरले रु ११ अर्ब बजेट छुट्याएको छ । चालु आवमा पनि भौतिक पूर्वाधारको रु नौ अर्ब सात करोड बजेट विनियोजन भएको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







