पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध


     एभरेस्ट आवाज    
     असार २१ गते २०७९ मा प्रकाशित




बलेवा। वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती व्यहोरिरहेका छन् । पहिरासँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ । आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । यो सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका सातवटा स्थानीय तहमा सडक सम्पर्क टुटेको छ भने लोकमार्गको बाटो भएर रुकुम, रोल्पालगायतका जिल्लाका लागि हिँडेका सवारी बाटोमै रोकिएका छन् ।

त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मीशेरा सडक पनि पहिराका कारण अवरुद्ध भएको रानाले जानकारी दिए । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी र सम्बन्धित कार्यालयको पहलमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।