ताप्लेजुङमा ४५ प्रतिशत रोपाइँ


     एभरेस्ट आवाज    
     असार २२ गते २०७९ मा प्रकाशित





फुङ्लिङ । निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । असारको तेस्रो सातासम्ममा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । लेकाली तथा बाँझो जमिनमा धान रोपाइँ सम्पन्न भएको हो ।रोपाइँ सुरु गर्ने समयदेखि नै वर्षा भएकाले जिल्लाका किसानले अहिले पनि सहजरुपमा रोपाइँ गरिरहेका कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्राविधिक सहायक केदार धितालले बताए । उनका अनुसार गत वर्षभन्दा यस वर्ष समयमै सहजगरी किसानले रोपाइँ गर्न पाएका छन् ।

हालसम्ममा धानखेती हुने लेकक्षेत्र र बाँझो खेतमा करिब किसानले रोपाइँ गरिसकेका उनको भनाइ छ ।हिमाली जिल्ला भएकाले ताप्लेजुङमा जेठको दोस्रो सातादेखि नै रोपाइँ सुरु गर्ने गरिएको छ । यसपाली जेठ मसान्तभित्रै जिल्लामा करिब १५ प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ ।

बाँझो खेतमा रोपाइँ सकेर मकैखेती गरिएको ठाउँ अर्थात् औल क्षेत्रतिर यतिबेला रोपाइँ गर्न थालिएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका, तथा सिदिङ्वा, पाथीभरा याङ्वरक, मिक्वाखोला, मैवाखोला, फक्ताङ्लुङ, सिरिजङ्घा, मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकामा किसानले धमाधम रोपाइँ गरिरहेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको नौवटा स्थानीय तहका ६१ वडामध्ये उच्च हिमाली क्षेत्रका केही वडामा धानखेती गरिँदैन । बाँकी सबै क्षेत्रमा धानखेती अर्थात् रोपाइँ गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार सिङ्गो जिल्लाको खेतीयोग्य जमिन २७ हजार ५५१ हेक्टर क्षेत्रफलमध्ये हाल आठ हजार ७३७ हेक्टरमा धानखेती गरिँदै आएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।