बागलुङमा विद्यार्थीलाई उपभोक्ता शिक्षा


     एभरेस्ट आवाज    
     असार २४ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

बागलुङ । बागलुङमा विद्यालय तहदेखि नै उपभोक्ता अधिकारबारे विद्यार्थीको ज्ञान र चेतना जगाउन प्रशिक्षण अभियान थालिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले उपभोक्ता शिक्षा प्रवद्र्धनका लागि विद्यार्थीलाई प्रशिक्षित गर्न सुरु गरेको हो ।

मङ्गलबार र बुधबार सदरमुकामस्थित विद्यामन्दिर मावि र कालीगण्डकी आवासीय माविमा प्रशिक्षण चलाइएको मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । बागलुङ नगरपालिकासँगको सहकार्यमा मञ्चले नगरभित्रका विद्यालयमा उपभोक्ता सचेतनाका लागि प्रशिक्षण सञ्चालन गरेको हो ।

अध्यक्ष श्रेष्ठले अरु स्थानीय तहसँग पनि मिलेर जिल्लाभर उपभोक्ता शिक्षाको प्रसार र सबलीकरण गरिने बताए । हरेक नागरिक उपभोक्ता भएकाले आफ्ना अधिकारका बारेमा पहिले व्यक्ति स्वयं सचेत हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताए । सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले विद्यालय तहका बालबालिकालाई उपभोक्ता शिक्षा फलदायी हुने धारणा राखे ।

दुई दिनसम्म चलेको प्रशिक्षणका क्रममा मञ्चका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत सौरभ श्रेष्ठ, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा ऋषि सापकोटा, सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता लालप्रसाद लामिछाने, मञ्चका सचिव रामबहादुर केसीलगायतले सहजीकरण गरेका थिए ।

सहजकर्ताले उपभोक्ता अधिकारसँग जोडिएका विविध विषयमा विद्यार्थीलाई सुसूचित गरेका थिए । खाद्य अनुसन्धान अधिकृत श्रेष्ठले दूषित खाद्य पदार्थ, न्यून गुणस्तरयुक्त खाद्य पदार्थ, ‘जङ्कफुड’, उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्थाजस्ता विषयमा सहजीकरण गरेका थिए।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।