थाली गाउँ झिलीमिली


     एभरेस्ट आवाज    
     असार २४ गते २०७९ मा प्रकाशित





सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–२ का घरधुरीमा सोलार प्यानल जडान गरिएको छ । सोलार प्यानल जडानसँगै वर्षौंदेखि दियालो बाल्दै आएका वडा नं २ थाली गाउँवासीको झन्झट पनि हटेको छ । यसअघि घाम लागेका बेला सोलार टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आएका खार्पुनाथ –२ घरमा एकैपटक पाँच बत्ती बल्ने सोलार जडान भएका छन् ।

सोलार बत्ती बलेपछि अब स्थानीयलाई दियालो टिप्न जङ्गल जानुपर्ने बाध्यता पनि हटेको स्थानीयले जनाएका छन् । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलका अनुसार वडाका २५० घरधुरीका लागि प्रत्येक घरमा एक सय एम्पियरको ब्याट्री र १०० वाटका प्यानल जडान गरी बत्ती बाल्ने सम्पन्न भएको जानकारी दिए ।

उक्त सोलार प्यानल गाउँपालिकाको समन्वय र कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गरिएको हो । सोलार प्यानल, ब्याट्री खदिरदेखि ढुवानी र जडान कार्य पनि सम्पूर्णरुपमा निःशुल्क गरिएको बताइएको हो । वडा नं २ मा आठभन्दा बढी बस्ती छन् ।

यस्तै खार्पुनाथ –४ स्थित सीता माध्यामिक विद्यालयमा पनि १० किलोवाटको सोलार प्यानल जडान गरी सञ्चालनमा ल्याइएको छ । यसपछि विद्यालयको कक्षामा प्रविधिको प्रयोग गरेर पठनपाठन गर्न सहज भएको छ । यसका लागि प्रदेश सरकारले रु साढे दुई करोड बजेट खर्च गरेको छ । स्थानीय बासिन्दाले गत कात्तिकमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गाउँमा पहिराले क्षति पु¥याएको अवलोकन गर्न आउँदा बत्तीको व्यवस्था गर्न माग गरेका थिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।