चैनपुर ट्याक्टर दुर्घटना : घाइतेको सङ्ख्या ४२ पुग्यो


     एभरेस्ट आवाज    
     असार २४ गते २०७९ मा प्रकाशित




सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा ट्याक्टर दुर्घटनामा घाइते हुनेको सङ्ख्या ४२ पुगेको छ ।

शुक्रबार दिउँसो मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुमकटामा दुर्घटनामा परको हो ।


ट्याक्टर दुर्घटनामा परेर घाइते हुनेको सङ्ख्या ४२ पुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

को २ त ३९६१ ट्याक्टर पल्टिएर दुई मलामीको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की रहेको सुवेदीले बताए । दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । ट्याक्टर दुर्घटनामा परेर भने छ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाईते भएका सात जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गई दहासंस्कार गरी पुनः मलामी बोकी फर्किने क्रममा ट्याक्टर दुम्कटामा दुर्घटनामा परको हो ।

सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरी चौकी सभाखोलाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्याक्टरको लोडपिन अचानक भाँचिन गई रोडको बाँयातर्फ पल्टिई दुर्घटना भएको प्रहरीले जनाएको छ । चैनपुर–१० की ९० वर्षीय कौशिला अधिकारीको मलामी गएका दुर्घटनामा परेका हुन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।