म्याग्दीको टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान


     एभरेस्ट आवाज    
     असार २७ गते २०७९ मा प्रकाशित




म्याग्दीको पर्यटकीयस्थल टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ।

मंगला गाउँपालिकाले पहिचान गरेको सिमलचौर–लामोछहरा–फलामेगुफा, महादेव गुफा–पूर्णगाउँ हुँदै टोड्के जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर पूर्वाधार निर्माण थालेको हो।

स्थानीय बासिन्दाले लेकबँेसी गर्न प्रयोग गर्ने बाटोलाई पर्यटकीय पदमार्गका रुपमा विकास गर्न पूर्वाधार बनाउन थालिएको सिमलचौर–टोड्के पदमार्ग निर्माण समितिका सचिव अशोक पौडेलले बताए।

‘चालू आर्थिक वर्षमा मंगला गाउँपालिकाले विनियोजन गरेको ३ लाख रुपैयाँ बजेटले सिमलचौरबाट पदमार्ग निर्माण थालिएको छ,’ उनले भने, ‘सडक बनेपछि विस्थापित भएको पुरानो बाटोलाई पर्यटकीय पदमार्ग बनाउन थालेका हौं।’

यस वर्षको बजेटले प्रवेश बिन्दुमा पर्ने सिमलचौरमा ढुंगा, सिमेन्ट र बालुवा प्रयोग गरेर १०० मिटर पदमार्ग बनाइएको सचिव पौडेलले बताए। प्राकृतिक उपचारस्थल मानिने तातोपानी भ्रमणमा आउने पाहुनालाई टोड्के र टोड्के पुगेका पर्यटकलाई तातोपानी भित्राउन सो पदमार्ग प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए।

बेनी–दरबाङ सडकको सिमलचौरदेखि नेवारे खोलाको दायाँ किनारैकिनार लामोछहरा, फगामेगुफा, महादेव गुफा, पूर्णगाउँ हुँदै टोड्के पुग्ने पदमार्ग बनाउन लागिएको मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताए। सिमलचौरदेखि २ घण्टा ५० मिनेट उकालो बाटो हिँडेपछि टोड्के पुग्न सकिन्छ। पदमार्गमा लामोछहरा, फलामे र महादेव गुफा पर्दछन्। अग्लो पहाडबाट खस्ने लामोछहरा आकर्षक र मनमोहक छ।

फलामे गुफाबाट परापूर्वकालमा फलाम निकाल्ने गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष दीर्घबहादुर खड्काले बताए। महादेव गुफाभित्र शिवको मूर्तिलगायत विभिन्न कलात्मक दृष्य अवलोकन गर्न सकिन्छ। समुद्री सतहदेखि २ हजार २०० मिटरको उचाईमा रहेको टोड्के मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सीमानामा छ।

गुराँसको जंगलको बीचमा पहाडको टाकुरामा समथर भूगोलमा रहेको सूर्योदय, हिमशृंखला, पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ। हाल रघुगंगाको झिँ, बेनीको वाखेत, मंगलाको पूर्ण गाउँ हुँदै टोड्के जाने पदमार्ग र सडक संचालनमा छन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।