म्याग्दीको बेनी उपल्लाचौरमा सिँचाइ नहर पुनर्निर्माण


     एभरेस्ट आवाज    
     असार २७ गते २०७९ मा प्रकाशित




पहिरो र सडकले क्षति पु¥याएको म्याग्दीको बेनी नगरपालिका–१ उपल्लाचौरको सिँचाइ आयोजनाको नहर पुनर्निर्माण गरिएको छ।

पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर निर्माण गरिएको छ।

उपल्लाचौर जल उपभोक्ता समितिका अनुसार उक्त नहर २००४ सालमा निर्माण गरिएको हो। समितिका अध्यक्ष चन्द्रवीर थापाले खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा नहर पुनर्निर्माण गरिएको जानकारी दिए।

‘मुहान नजिकै पहिराले भासिएको र उपल्लाचौरमा रत्नेचौर–अर्जम–भकुण्डे सडक निर्माणका क्रममा पुरिएको थियो’ उनले भने, ‘भासिएको ठाउँमा पाइपलाइन र पुरिएको नहर निर्माण गरेपछि मुहानबाट पठाएको जति सबै पानी खेतमा आइपुग्ने भएको छ।’

यसअघि, नहर भासिने र पुरिने गरेपछि मुहानबाट पठाएको आधाभन्दा कम मात्र पानी खेतमा पुग्ने गरेको उनको भनाइ थियो। हिउँद र सुक्खायाममा सिँचाइ अभावमा बाली लगाउन समस्या भएको थियो। बर्खामा पनि किसानले धान रोप्न पालो लगाउने गरेका थिए।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जीनियर अञ्जन खत्रीका अनुसार २००४ सालको सिँचाइ आयोजनाका लागि चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। सो बजेटबाट १२५ एमएम क्षमताको १ हजार ११६ मिटर पाइप र २३५ मिटर नहर पुनर्निर्माण गरिएको हो।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।