म्याग्दीको मङगला गाउँपालिका३,बरङजामा रोपाइँ गर्दै किसान । तस्बीर:ध्रुबसागर शर्मा
म्याग्दी । म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो ।
विगतका वर्षहरुमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भैसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् । मूल फुटेर, खहरे तथा अन्य खोलाहरुमा पानीको छेलोखेलो हुने समयमा यस वर्ष पानीकै अभाव भएपछि रोपाइँ हुन नसकेको किसानहरुले बताएका छन् ।
जिल्लाका विभिन्न ठाउँका कृषकले धारा वा मूलको पानी आलोपालो गरेर रोपाइँ गरिएको खेतमा पनि सिँचाइको अभावमा गराहरू चर्किएको बताएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले अहिलेसम्म करिब ५५ प्रतिशत खेतमा रोपाइँ भएको जानकारी दिए ।
अघिल्लो वर्षको यही समयमा अहिलेको भन्दा धेरै रोपाइँ भए पनि यो वर्ष पर्याप्त वर्षा नहुँदा कृषक चिन्तामा परेको उनको भनाइ छ । जिल्लामा कूल ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा तीमध्ये जम्मा १९ हजार ४९८ हेक्टरको जमिनमा खेती हुँदै आइरहेको छ । जिल्लामा कूल तीन हजार ८८५ हेक्टरको जमिनमा धानखेती हुँदै आएको छ ।
गत वर्ष १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । खेती गरिएको जमिनमध्ये छ हजार १३ हेक्टरअर्थात् ३० दशमलव आठ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा एक हजार ६८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार ३३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।
कृषि निर्देशनालय गण्डकी प्रदेशका निर्देशक वासुदेव रेग्मीले ११ जिल्ला रहेको गण्डकीका नौ जिल्लामा मात्रै धान रोपाइँ हुने गरेको जानकारी दिए । प्रदेशका सबै जिल्लामा गरी अहिलेसम्म करिब ६३ प्रतिशत रोपाइँ भएको तथ्याङ्क आएको उनले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







