चितवन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सञ्चालन गरेको अभियान प्रभावकारी बन्दै गएको छ । तत्कालीन समयमा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय हुँदा सञ्चालनमा ल्याइएको “जस आउँछ” अभियानले प्रहरीभित्रको सुदृढीकरण र व्यावसायिक प्रहरी बनाउन सहयोग गरेको सो कार्यालयको भनाइ छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार जग्गा प्राप्ति तथा भौतिक निर्माण, सवारी दुर्घटना न्यूनीकरण, आर्थिक शुद्धिकरण, उन्नत् व्यवहार र छलफल गरी प्रहरीलाई व्यावसायिक बनाउन यो अभियान सञ्चालनमा ल्याइएको हो ।
बागमती प्रदेशमा रहेका काठमाडौँ, भक्तपुर र ललितपुर बाहेकका जिल्लामा यो अभियान सञ्चालनमा ल्याइएको छ । अभियानका क्रममा कार्यालयले रामनगरमा सतनचुली सामुदायिक वनको १० कठ्ठा जग्गा प्राप्ति गरेको छ । यस्तै सिन्धुलीको दूधौली र काभ्रेमा कार्यालय स्थापनाका लागि जग्गा प्राप्ति भएको उनले जानकारी दिए । नेपाल सरकार मन्त्रिपरिषद्को यही असार २१ गतेको निर्णयले रामनगरमा जग्गा उपलव्ध गराएको हो ।
सरकारको निर्णयसँगै कार्यालयले अस्थायी संरचना निर्माणको काम सुरु गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि हरेक जिल्लामा छड्ेक तथा नियमित जाँच, कारबाही, चालक र यात्रुसँग ५÷५ मिनेट, चालक र सहचालकको स्वास्थ्य परीक्षण, सवारी साधनको यान्त्रिक परीक्षण गर्दै आएको छ ।
विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन, सरोकारवाला निकायसँग मिली ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतनामुलक होर्डिङबोड, सिसिटिभी जडान जस्ता कार्य सम्पन्न गरिएको कार्यालयले जनाएको छ । अभियानका क्रममा हालसम्म एक हजार ९७० जना चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएकोमा ६२२ जनाको आँखामा समस्या देखिएको थियो । जसमध्ये ४५७ जनामा उच्च रक्तचाप तथा मधुमेहको समस्या देखिएको छ ।यस्तै सवारी साधनको यान्त्रिक परीक्षणका क्रममा अवस्था ठिक नभएका एक हजार ८२३ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।
गत फागुनबाट सुरु गरिएको अभियानका क्रममा दुर्घटना न्यूनीकरणका लागि तीन हजार २२४ पटक सचेतना कार्यक्रम गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो क्रममा तीन लाख ६ हजार ८३८ जनालाई ट्राफिक सचेतना कार्यक्रममा सहभागी गराइएको छ । राठौरका अनुसार आर्थिक शुद्धिकरण अभियान अन्तर्गत १२ जना प्रहरीलाई कारबाही गरिएको छ भने एक सवारी चालकलाई पक्राउ गरिएको छ ।
ट्राफिक प्रहरीलाई घुस दिने एक जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बुझाइएको उनले जानकारी दिए ।शून्य सहनशीलता कायम गर्न प्रहरीलाई प्रहरीकै निगरानीमा राखिएको छ । सादा पोसाकमा रहेका प्रहरीलाई यात्रु वा चालकको रुपमा पठाएर कर्मचारीको बारेमा जानकारी लिइने गरेको उनले बताए । आर्थिक शुद्धिकरण अभियानका क्रममा प्रहरी कर्मचारीसँग महिनाको एक पटक छलफल गरी उनीहरुको समस्याबारे जानकारी लिने गरिएको छ ।ट्राफिक व्यवस्थापनका क्रममा प्रहरीले यात्रु र पीडित पक्षलाई गर्ने व्यवहारमा परिवर्तन ल्याउनका लागि उन्नत व्यवहार कार्य सुरु गरिएको उनको भनाइ छ ।
छलफलबाट हरेक समस्याको समाधान निस्कन सक्ने भएकाले प्रहरीलाई यस तर्फसमेत केन्द्रित गराइएको कार्यालयले जनाएको छ । विशेष गरी समाजमा हुने अपराध र दुर्घटना न्यूनीकरणका लागि छलफल आवश्यक रहेको उनले बताए । छलफलबाट दिइएका सुझावलाई कार्यान्वयन गर्दै जाँदा समाजमा अपराध र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वासका साथ यस अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।सवारी दुर्घटना बढी हुनुमा मुख्य चार कारण रहेको कार्यालयले जनाएको छ ।
जसमा मानवीय कारण, सडकको अवस्था, यान्त्रिक कारण, वातावरणीय कारण रहेका छन् । मानवीय कारण अन्तर्गत चालकको लापरबाही, तीव्र गति, मादकपदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोबाइल फोनको प्रयोग, सवारी नियम उल्लङ्घन र यात्रुको गल्ती रहेको छ । सडकको अवस्थामा घुम्ती मोड, उकालो÷ओलारो, सडक निर्माण कार्य, खाल्डाखुल्डी, जीर्ण सडक मापदण्ड विपरीत सडक, साँघुरो सडक रहेका छन् ।
यान्त्रिक गडबढी, सवारीको अवस्था ठीक नहुनु, ब्रेक नलाग्नु, बत्ती नबल्नुका कारण पनि दुर्घटना हुने गरेको छ । यस्तै हुस्सु, बाढीपहिरो, वर्षा, आँधीबेहरीका कारणलेसमेत दुर्घटना हुने गरेको राठौंरले बताए । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्ने हो भने मुख्य राजमार्गमा सवारी दुर्घटना बढी भएको पाइन्छ ।
चालू आर्थिक वर्षमा एक हजार तीन सवारी दुर्घटना मुख्य राजमार्गमा भएका छन् भने ग्रामीण सडकमा ४८६ र सहरी सडकमा ८७ दुर्घटना भएका छन् । यस्तै गत आर्थिक वर्षमा ९३१ सवारी दुर्घटना मुख्य राजमार्गमा भएको छ । यस्तै आर्थिक वर्ष २०७६÷७७ मा ४९२ दुर्घटना मुख्य राजमार्गमा भएका थिए । मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म हुने दुर्घटना न्यूनीकरणका लागि यो अभियान प्रभावकारी बनेको प्रहरी उपरीक्षक राठौरले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







