रुपन्देही । बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि सुरु भएको छ । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्पराअनुसार लुम्बिनीको राजकीय बुद्ध विहारमा यसको शुभारम्भ गरिएको छ । तीनमहिने वर्षावास तथा धार्मिक अनुष्ठान कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बुद्ध धर्म र दर्शनको प्रचारका लागि वर्षावास उपयुक्त समय भएको बताए । बौद्ध भिक्षु तथा उपासक उपासिका एकै ठाउँमा भेला हुने र धार्मिक कार्यक्रम गरेर बुद्धको शिक्षा फैलाउन यो समयको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ ।
कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले मानिसले भित्रबाट इच्छा गरेको कुरा शान्ति भएकाले बुद्धको शिक्षालाई आत्मसात् नगर्दासम्म यसको प्राप्ति नहुने बताए । उनले कोरोनाका कारण पछिल्लो समय धार्मिक गतिविधि सुस्ताएकाले अब सबै विहारले यस्ता धार्मिक क्रियाकलाप बढाउनुपर्ने बताए।कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन सञ्जीव हुमागाइँले लुम्बिनीमा हुने कायक्रममा स्थानीयको सहभागिता बढाउन आवश्यक रहेको बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले २०१३ सालमा स्थापित राजकीय बुद्ध विहारको स्थानीयले नै संरक्षण गर्दै आएको बताउँदै अब नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
वर्षावास शुभारम्भ भएसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न विहारमा भिक्षुहरु वर्षावास बसेका छन । वर्षाका कारण चारैतिर पानी पर्ने, जमिन भित्रका जीव तथा किराहरु बाहिर निस्कने हुँदा बाहिर हिँड्डुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमा वर्षावास बस्ने गर्नुहुन्छ । वर्षावास भनेको भिक्षुहरु तीन महिना एकै विहारमा बसेर अध्ययन एवम् चिन्तन मनन गर्नु हो । वर्षाको समयमा मानिसहरु खेतीपातीमा लाग्नुपर्ने र भिक्षुहरु यताउता आवतजावत गर्न गाह्रो हुने तथा हिँड्डुल गर्दा किरा फट्याङ्ग्रा कुल्चने डर हुने भएकाले भगवान बुद्धले वर्षावासको व्यवस्था गर्नुभएको भिक्ष सागर धम्मको भनाइ छ । भिक्षु धम्मका अनुसार भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ ।
भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ नियममध्ये वर्षावास पनि एक हो । बौद्ध परिब्राजक भिक्षुहरू कतै नगई एकै स्थान वा विहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावास भनिन्छ । यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको छ । सिद्धार्थ गौतमले आषाढ पूर्णिमाको रातमा कपिलवस्तुका राजा शुद्धोधनकी रानी मायादेवीको गर्भमा प्रवेश गर्नुभएको थियो । उहाँले २९ वर्षपछि आजकै दिनमा महाभिनिष्क्रमण घरबार त्याग गरेका बौद्ध शास्त्रमा उल्लेख छ । अनेक त्याग, तपस्या र ध्यान विधिबाट बुद्धत्व प्राप्त गरेपछि बुद्धले पहिलो पटक पाँचजना ब्राह्मणलाई शिक्षा दिएका थिए । तयसलाई धर्मचक्र प्रवर्तन भनिन्छ अर्थात् आषाढ पूणिर्माकै दिनदेखि बुद्ध धर्मको प्रचारप्रसार अभियान प्रारम्भ भएको मानिन्छ ।वर्षावासको समयमा विहारमा दैनिक धार्मिक गतिविधि सञ्चालन हुने भएकाले उपासक उपासिका नियमित रूपमा विहार गई पञ्चशील ग्रहण गर्ने, साप्ताहिक उपोसध धर्मपालना गर्ने, ध्यान बस्ने, नियमित दान प्रदान गर्ने कार्यक्रम न्यानवती गुरुमाले बताए ।
वर्षावास बस्नुअघि भिक्षुहरूको सिमानाभित्र रहेको उपोसधगारमा भिक्षुसङ्घमा भेला हुुनु जरुरी छ । यसपछि भिक्षुसङ्घको सङ्घनायक अगाडि आफूले जानी नजानी गरेका भूल वा दोषहरू स्वीकार गरी क्षमादान गर्न आह्वान गरिन्छ । यस सङ्घकर्मलाई उपोसध कर्म भनिन्छ । यस उपोसधपछि आ–आफ्ना विहार वा आफूले इच्छा गरेका विहारमा भिक्षुहरू वर्षावासका लागि प्रस्थान गर्ने गर्छन् । वर्षावास बसेको अवसरमा एउटा छुट्टै पवारण भनी कार्यक्रमको व्यवस्था गरिएको हुन्छ । यस अवसरमा आफूले भोगेका पीर मर्का कठिनाइ र आफूले गरेका भूल भिक्षुसङ्घ अगाडि आफूभन्दा ज्येष्ठ भिक्षु सामुन्ने संयमित भई क्षमायाचना गरी पवारण विनय पालन गरिन्छ ।
आफूले गरेको भूलप्रति स्वीकार्न अनुरोध गरेकाले यस अवसरमा आत्मदेशना र पवारण विनय पालन गरिएकाले भिक्षुसङ्घले क्षमा स्वीकार गर्ने बताइन्छ । भिक्षुहरूको तीनमहिने वर्षावास अधिष्ठान सकिएको अवसरमा स्थानीय विहारका उपासक उपासिकाले खुसीले कठिन उत्सव मान्ने परम्परा छ । उपासक उपासिकाबाट वर्षावास बसेका भिक्षुलाई कठिन चीवर दान गर्ने परम्परा रहेको बौद्ध महिला समितिका सहसचिव टीका कटेल बताछन ।
उक्त दिनमा पूजापाठ, दान गरी भोजनको व्यवस्था गराइन्छ । यसरी प्रत्येक वर्ष गरिने वर्षावास तथा कठिन उत्सव मनाउने गरिन्छ । यो कठिन उत्सव वर्षमा एउटा विहारमा एकपटक मात्र मनाइन्छ । कठिन दानको अवसरमा पूजा पाठ गरी दान शील भावना राखी प्रवचन सुन्ने र भिक्षुगण, अनागरिक र अन्य श्रद्धालु भक्तजनलाई समेत निमन्त्रणा गरी भोजन दान गर्ने प्रचलन रहेको बौद्ध महिला समितिका अध्यक्ष यमुनादेवी पौडेलले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






