पशुपालनमा प्रोत्साहन


     एभरेस्ट आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित





हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले उपमहानगरलाई माछामासुमा आत्मनिर्भर बनाउन र किसानलाई समृद्ध बनाउन पशुपालन प्रोत्साहन कार्यक्रम सञ्चालन गरेकोे छ । उक्त कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन भइरहेको र आगामी आर्थिक वर्षमा पनि निरन्तर रहने उपमहानगरले जनाएको छ । उपमहानगरले पशुपालक किसानलाई लक्षित गरेर विभिन्न क्षेत्रमा अनुदान रकम उपलब्ध गराएको छ । चालु आर्थिक वर्षमा यहाँका किसानलाई पशुपालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाइएको छ ।

पशुपक्षी विकास तर्फ किसानसँगको लागत साझेदारीमा साना किसान सहयोग कार्यक्रम अन्तर्गत ४० जना किसानलाई ‘काउ म्याट’ वितरण गरिएको उपमहानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख गङ्गा चौलागाईंले बताउनुभयो ।यसैगरी पाडापाडी अनुदानअन्र्तगत १५ वटा समूहलाई ३०० वटा वितरण गरिएको छ । युवा लक्षित अनुदानअन्र्तगत १० वटा फार्मलाई एक लाखका दरले वितरण गरिएको उनले बताए ।

यसैगरी माछा तथा हाँसपालन अनुदान ९ वटा फार्मलाई वितरण गरिएको छ । बङ्गुरपालन अनुदानअन्र्तगत १७ समूहलाई पाठापाठी वितरण तथा व्यावसायिक फार्म प्रोत्साहन कार्यक्रम १० गरी जम्मा १०१ किसानलाई अनुदान उपलब्ध गराइएको उनले बताए ।विगत वर्षदेखि सञ्चालन हुँदै आएको पशुको कृत्रिम गर्भाधान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा १२ हजार पशुमा सेवा उपलब्ध गराइएको छ । उपमहानगरका ४ वटा सेवा केन्द्रमार्फत पशुमा लाग्ने विविध रोगका लागि आवश्यक औषधिहरु निःशुल्क वितरण गरिनुका साथै मौसम अनुसारको घाँसको बीउ सेवा केन्द्रमार्फत वितरण भइरहेको छ ।

पशुमा आकस्मिक रुपमा लाग्ने खोरेत, पिपिआर, भ्याकुते रोगको नियन्त्रणको लागि खोप लगाउने कार्य आवश्यकता अनुसार निरन्तर हुँदै आएको छ । सङ्घीय सरकारको सशर्त अनुदानबापत उपलब्ध भएको ‘मासु मिसन’ कार्यक्रम अन्तर्गत विभिन्न १३ किसान समूहलाई १३० वटा पाडा वितरण गरिएको छ । साथै, ‘मिटमार्ट’ निर्माण कार्यका लागि माछामासु व्यवसायी सङ्घसँगको सहकार्यमा पशु बधशाला निर्माण कार्य चालु अवस्थामा रहेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।