बेनी नगरपालिका–२ बगरफाँटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको छ।
कटानको उच्च जोखिममा रहेको बगरफाँटस्थित म्याग्दी नदी किनारामा ग्याबियन जालीको पर्खाल बनाएर तटबन्ध गरिएको हो।
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले यस वर्ष बगरफाँट संरक्षणका लागि म्याग्दी नदीकटान रोक्न ग्याबियन जाली लगाउन १५ लाख रुपैयाँ विनियोजन गरेको थियो। सोही बजेटबाट १३२ थान ग्याबियन जाली भरेर पर्खाल बनाई तटबन्ध गरिएको उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताएका छन्।
उनका अनुसार बगरफाँट–डम्मरा जोड्ने झोलुंगे पुल तलको म्याग्दी नदी किनारको ५५ मिटर क्षेत्रमा ग्याबियन जाली लगाइएको हो।
‘टाढाबाट ढुंगा ल्याउनुपर्ने र जिम्मेवारी पाएको निर्माण समितिले समन्वय गर्न नसक्दा जेठको अन्तिममा काम थालिएको थियो,’ कार्कीले भने, ‘मौसमले साथ दिएकाले छोटो समय हुँदाहुँदै पनि नदी नियन्त्रणको काम गर्न सफल भयौ।’
यसअघि आर्थिक वर्ष २०७७÷७८ मा रूपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको ५० लाख रुपैयाँको लागतमा सोही क्षेत्रमा ग्याबियन जाली भरेर तटबन्ध गरिएको थियो। गतवर्ष म्याग्दी नदीमा आएको बाढीले सो तटबन्ध बगाइदिएपछि समस्या बस्ती नै जोखिममा परेको थिया।
२०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रूपमा म्याग्दी नदीको कटानका कारण बगरफाँट जोखिममा परेको छ। त्यहाँ करीब २०० घरधुरी कटानको जोखिममा छन्। विसं २०७६ मा स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त १० लाख रुपैयाँबाट नदीजन्य वस्तुको स्थानान्तरण गराई उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम गरिएको थियो।
अध्यक्ष कार्कीका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी–६ डम्मराका बासिन्दाको आपसी सहमतिमा म्याग्दी नदीको करिब ५ मिटर क्षेत्रबाट एक्स्काभेटरको प्रयोग गरी नदीजन्य वस्तु (ढुंगा, गेगर, बालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो।
नदीले बगरफाँटको करीब १५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिव मन्दिर क्षेत्र, पलाँसे र जरुवा जोखिममा छन्। बगरफाँट सदरमुकाम बेनी बजारसँगै जोडिएको कृषिका लागि उर्वर फाँट भएको गाउँ हो।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







