गोरखाको आरुघाट–१ श्यामचेतमा पहिरो

- पहिरोले ३ घर बगायो, ८ घर पु¥यो, ४० घर जोखिममा, २ सय जनालाई स्थानान्तरण


     एभरेस्ट आवाज    
     असार ३० गते २०७९ मा प्रकाशित




गोरखाको आरुघाट गाउँपालिका वडा नं १ श्यामचेतको लेकमा पहिरो जाँदा ३ घर बगाएको छ।

पहिरोले ८ घर पुरेको छ भने ४० घर जोखिममा छ।

बुधबार बेलुकी साँढे ५ बजेतिर पहिरो गएको हो। आरुघाटको स्यामचेत वस्तीको दायाँवायाँ दुबैतर्फबाट पहिरो गएको हुनाले उक्त वस्ती जोखिममा परेको हो। पहिरोबाट करिब २ सय जता स्थानीयवासी प्रभावित बनेका छन्।

पहिरोबाट प्रभावित स्थानीयलाई करिब १ किलो मिटर पर सुरक्षित स्थलमा स्थानान्तरण गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले एभरेस्ट आवाजलाई बताएका छन्।

अध्यक्ष गुरुङका अनुसार पहिरोबाट प्रभावितलाई बुधबार राती अबेर पालसहित चामल, चिउरा, आलु, बिस्कुट, चाउचाउ लगायतका खाद्यान्न सामग्री वितरण गरिएको छ।

पहिरो क्षेत्रमा थप क्षति नहोस भन्ने उद्देश्यले अहिले त्यहाँ नेपाली प्रहरी, सेना, र सशस्त्रको टोली खटिएको छ। थप क्षति नहोस भन्ने उद्देश्यले सुरक्षाका थप शक्ति पहिरोस्थलतर्फ गएको अध्यक्ष गुरुङले बताए। आरुघाटस्थित गाउँपालिकाको कार्यालयमा पालिकाको बैठक बस्दै गर्दा पहिरो गएको खबर आएपछि जनप्रतिनिधिसहित आफू पहिरोस्थलतर्फ गएको पालिका अध्यक्ष गुरुङले बताए। पालिका कार्यालयबाट पहिरोस्थल पुग्न करिब ४ घण्टा लागेको अध्यक्ष गुरुङले उल्लेख गरे।

पहिरो गएको क्षेत्र गाउँपालिकाकै उत्तरी भाग लेक श्यामचेतमा लगातार वर्षा भइरहने गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले बताइन्। ५ वर्ष अघिदेखि सो क्षेत्रमा उक्त वर्षेनी पहिरो गइरहने गरेको उपाध्यक्ष नेपालीको भनाई छ।

‘गोरखा भुकम्पले गर्दा होला ५ वर्ष अघिदेखि उक्त क्षेत्रमा सानो पहिरो गइरहने भएको थियो। तर, यो वर्ष भने विगतको भन्दा ठूलो पहिरो गएर सो क्षेत्रको वस्ती नै जोखिम बनायो,’ उपाध्यक्ष नेपालीले उल्लेख गरिन्।

पहिरो गएको उक्त क्षेत्र साविकको मान्वु गाविस पर्ने उपाध्यक्ष नेपालीले सुनाइन्। नेपालीका अनुसार साविकको मान्वु गाविसलाई आरुघाट गाउँपालिकाको वडा नं १ र २ मा विभाजन गरेको हो।

एभरेस्ट आवाजकर्मीले गाउँपालिकाको वडा नं १ का वडाध्यक्ष गजे घलेलाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।