उपसभामुख पदमा आज निर्वाचन


     एभरेस्ट आवाज    
     असार ३१ गते २०७९ मा प्रकाशित




उपसभामुख पदका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ।

निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिस्पर्धा हुने भएको छ।

गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी सचेतक समेत रहेकी पुष्पा भुषाल र प्रतिपक्ष दल एमालेका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दिएका छन्।

तत्कालीन उपसभामुखले राजीनामा दिएपछि करिब ३ वर्षदेखि रिक्त रहेको उपसभामुख पदका लागि आज निर्वाचन हुन लागेको हो।

भुषालको प्रस्तावकमा नेपाल माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृतकी लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छन्।

यस्तै, भट्टराईको प्रस्तावकमा एमालेका सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल छन्।

गठबन्धनबाट उम्मेदवार बन्नुभएकी भुषाल २०७४ सालमा पनि उपसभामुखको उम्मेदवार बनेकी थिइन्। त्यतिबेला भुषाल एमाले–माओवादी केन्द्रको सत्ता गठबन्धनको साझा उम्मेदवार शिवमाया तुम्बाहाम्फेसँग पराजित बनेकी थिइन्।

भुषाल २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएकी हुन्। उम्मेदवारी दर्तापछि भुषालले संविधान कार्यान्वयनका लागि संसद्लाई थप प्रभावकारी बनाउन केन्द्रीत रहने बताएकी छिन्।

यस्तै, एमालेबाट उपसभामुख पदका लागि उम्मेदवारी दिएकी एमाले उम्मेदवार भट्टराई कास्की क्षेत्र नम्बर २ बाट २०७६ सालमा भएको उपनिर्वाचनमा विजयी बनेकी थिइन्। उम्मेदवारी दर्तापछि भट्टराईले पनि संसद्लाई प्रभावकारी बनाउनुका साथै संवैधानिक भूमिका पुरा गर्ने उल्लेख गरेकी छिन्।

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि तत्कालीन नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए। संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएका थिए।

यस्तै प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ।

संसदमा अहिले नेकपा एमालेका ९८, नेपाली कांग्रेसका ६३, माओवादी केन्द्रका ४९ जना सांसद हुनुहुन्छ । यस्तै नेकपा एसबाट २३, जसपा २१, लोसपा १३, राष्ट्रिय जनमोर्चा १, राप्रपा १, नेमकिपा १ र स्वतन्त्र १ जना सांसद रहेका छन्।

अहिले सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी छन्। झण्डै ३ बर्षदेखि रिक्त उपसभामुख चयन प्रक्रिया सुरुभएपनि अझै राष्ट्रियसभा उपाध्यक्ष र संसदीय समितिका सभापतिहरू भने चयन हुन सकेको छैन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।