‘उज्यालो चन्द्रागिरि अभियान’ ः सिसी क्यामरा र सडक बत्ती जडान


     एभरेस्ट आवाज    
     असार ३१ गते २०७९ मा प्रकाशित





काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत आवश्यकताका आधारमा नगर क्षेत्रमा थप सिसी क्यामरा र सडक बत्ती जडान गर्ने भएको छ ।

नगरपालिकाले पहिलो चरणमा कलङ्की–नागढुङ्गा–पिपलामोड सडक खण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो । यसबाट सो राजमार्गमा सडक दूर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो ।

नगरपालिकाले चालु नयाँ आर्थिक वर्षमा पनि सो राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य तथा भित्री सडकमा आवश्यकताका आधारमा सिसी क्यामरा तथा सडक बत्ती जडान गर्ने जनाएको छ । यसैबीच नगरप्रमुख घनश्याम गिरीले कलङ्की–नागढुङ्गा– पिपलामोड सडकखण्डमा हुँदै गरेको दोस्रो चरणको सडकबत्ती तथा सिसी क्यामेरा जडान विस्तार कार्यको आज निरीक्षण अनुगमन गरे ।

नगरप्रमुखको पहिलो कार्यकालमा नगरपालिकाको सम्पूर्ण वडालाई सडकबत्ती जडान गर्न बजेट विनियोजित गरिएको उनले जानकारी दिनुहुँदै तत्कालीन समयमा लगभग आठ हजार थान सडकबत्ती विभिन्न वडामा जडान भएको बताए ।

अभियानसँगै यसै वर्ष नगरपालिकाले आवश्यक अधिकांश ठाउँमा ‘फ्रि वाइफाई’ तथा ‘सिसी क्यामेरा’ जडान गरिने नगरप्रमुख गिरीले जानकारी दिए । यी प्रविधि र बत्ती जडानले नगरक्षेत्रमा दुर्घटना, चोरी डकैती तथा अनियन्त्रित गतिविधि नियन्त्रण हुने जनाइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।