जुडो च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीको बिदाइ


     एभरेस्ट आवाज    
     असार ३१ गते २०७९ मा प्रकाशित





काठमाडौँ । थाइल्यान्डको बैंककमा आउँदो साउन १ देखि ७ गतेसम्म हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले चार खेलाडीसहित आठ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

सदस्य–सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरे । क्याडेटमा दुई र जुनियरमा दुई गरी चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । क्याडेट÷जुनियरमा १–१ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।जुनियरको पुरुष ६० किलोमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ किलोमुनि देवकीमाया श्रेष्ठ सहभागी हुने छन् । क्याडेटको पुरुष ५५ किलोमुनि ताराबहादुर भुजेल र महिला ४८ किलोमुनि निशा श्रेष्ठले खेल्ने छन् ।

घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग पामको प्रतिनिधित्व गर्छन् । देवकी र निशा सहोदर दिदीबहिनी हुन् । टोली प्रमुखमा नेपाल जुडो सङ्घका अध्यक्षसमेत रहनुभएका जुडो युनियन अफ एसिया जेयुएका एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष बज्राचार्य छन ।

टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ छन । जुडो सङ्घका खेलकुद निर्देशक सुप्रसिद्द ताम्राकार पनि टोलीसँग बैंकक जानेछन । साउन १ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन नेपाली टोली आजै थाइल्यान्ड प्रस्थान गर्दैछ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।