अनाथ, असहाय बालबालिकालाई निःशुल्क शिक्षा


     एभरेस्ट आवाज    
     श्रावण १ गते २०७९ मा प्रकाशित




व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ संचालन गर्ने भएको छ।

नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त विद्यालय सञ्चालन गर्न लागिएको हो।

उक्त प्रकृतिका विद्यार्थीका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्यअनुरुप विद्यालय संचालन गर्न लागेको व्यासका प्रविधि सूचना अधिकृत विशाल पण्डितले जानकारी दिएका छन्। विद्यालय संचालनका लागि आवश्यक पर्ने कर्मचारी पदपूर्तिको लागि यसअघि नै विज्ञापन गरिसकेको नगरपालिका कार्यालयले जनाएको छ।

विद्यालयमा खाना पकाउने भान्से, शिक्षिका र सुरक्षाकर्मीलगायतका जनशक्ति माग गरिएको नोडल अधिकृत कुमारकञ्चन जिसीले जानकारी दिए। विद्यालय संचालनको लागि विद्यार्थी भर्ना गर्न साउन २ गतेदेखि ८ गतेसम्म आवेदन फाराम वितरण गर्न सूचना जारी गरेको शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिए। कक्षा ५ सम्म विद्यार्थी भर्नाका लागि आवेदन फाराम वितरण गरिएको व्यास शिक्षा शाखाले जनाएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।