तनहुँका १० वटै स्थानीय तहको पानीमा दिसामा पाइने जीवाणु (इकोलाइफर्म) भेटिएको छ। पानीको नमूना परीक्षण गर्दा सो जीवाणु भेटिएको हो।
तनहुँका धारा, मूल, ट्यांकी र इनारको पानीको नमूना परीक्षणका क्रममा ६७ प्रतिशत उक्त जीवाणु भेटिएको हो।
काठमाडौँमा हैजाका बिरामी भेटिन थालेपछि उच्च सतर्कता अपनाउन जिल्लाका खानेपानीको स्रोतको नमूना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक राजेन्द्र रानाभाटले जानकारी दिएका छन्।
खानेपानीको मूल र स्रोतको नमूना परीक्षण गर्दा अधिकांश क्षेत्रको पानी पिउनयोग्य नरहेको पाइएको रानाभाटले बताए।
‘अधिकांश मूल र धाराको पानी खान योग्य छैन, परीक्षण गर्दा इकोलाइफर्म भेटियो,’ उनले भने।
जिल्लाका ७६ पानीको स्रोतको नमूना परीक्षण गरिएकामा ५१ स्रोतमा दिसामा पाइने जीवाणु भेटिएको हो।
व्यास नगरपालिकामा १० नमूना परीक्षण गरिएकामा २ स्रोतको मात्र पानी पिउनयोग्य पाइएको रानाभाटले जानकारी दिए। भानु नगरपालिकाको ३ नमूना परीक्षण गरिएकामा सबैमा इकोलाइफर्म भेटिएको छ।
आँबुखैरेनीमा ५ ठाउँमा परीक्षण गरिएकामा ३ मा इकोलाइफर्म भेटिएको छ। घिरिङको ३ वटै नमूना परीक्षणका क्रममा इकोलाइफर्म पाइएको रानाभाटले जानकारी दिए।
त्यसैगरी देवघाटमा नमूना परीक्षणका क्रममा ५ पिउनयोग्य रहेको पाइएको, बन्दीपुर गाउँपालिकाको ५ वटामध्ये १ मुहानमा मात्रै योग्य र म्याग्देको ७ नमूना परीक्षणमा २ योग्य रहेको पाइएको छ।
शुक्लागण्डकी नगरपालिकाको ११ नमूना परीक्षणमा ३ स्रोत योग्य रहेको पाइएको छ। शुक्लागण्डकी नगरपालिकामा वितरण गरिएका धाराको पानीमा जीवाणु भेटिएको उनले बताए।
त्यसैगरी ऋषिङ गाउँपालिकाको नमूना परीक्षणमा ४ मूलको पानी पिउनयोग्य पाइएको छ। पहिलो चरणमा ससाना मूल, ट्यांकी, धारा र इनारको पानीको नमूना परीक्षण गरिएको हो। नमूना परीक्षण गरिएका अधिकांश खानेपानीको स्रोत अयोग्य भेटिएको छ। ठूला खानेपानी आयोजनाको पनि छिट्टै नमूना परीक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिएका छन्।
पानीका स्रोतमा इकोलाइफर्म देखिएका सम्बन्धित पालिकालाई जानकारीसहित खानेपानीको रिपोर्ट पठाइएको कार्यालयले जनाएको छ। पानीका मुहानको सरसफाइ गर्न, पानी शुद्धीकरण गर्न, तताएर, फिल्टर गरेर मात्रै पिउन सुझाव दिइएको छ।
अस्पतालको पानी पनि पिउन अयोग्य
दमौली अस्पतालकै पानीको नमूना परीक्षण गर्दा इकोलाइफर्म भेटिएको छ। अस्पतालको धारो र जमिनमुनिको पानी पिउन अयोग्य रहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। दमौली अस्पतालको २ स्रोतको पानीमा इकोलाइफर्म भेटिएको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







