नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित




आइसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल ८ विकेटले पराजित बनेको छ।

नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य स्कटल्यान्डले १९ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो। स्कटल्यान्डका लागि कलुम म्याकलिओडले सर्वाधिक ६४ रन बनाए। यस्तै, किले कोटजेरले नटआउट ४४ रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ ओभर ५ बलमा १२८ रन बनाउँदा अलआउट बन्यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए। यस्तै, कप्तान सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३, देव खनाल र रोहित पौडेलले १०/१०, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले ७/७ तथा कुशल भुर्तेलले ३ रन बनाए। आरिफ शेखले खाता पनि खोल्न सकेनन्।

स्कटल्यान्डका हम्जा ताहिरले ४, मार्क वाटले ३, गाभिन मेइनले २ र क्रिस्टोफर म्याकब्राइटले १ विकेट लिए।

यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। तर, नेपाल नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित बनेको थियो। नेपालसँग पराजित स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको छ।

नेपाल २० खेलमा १७ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। स्कटल्यान्ड २४ खेलमा ३४ अंकसहित दोस्रो र नामिबिया १८ खेलमा १८ अंकसहित तालिकाको ५ औं स्थानमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।